‘कौन बनेगा करोडपति’मा अमिताभको प्रश्नबारे सामाजिक सञ्जालमा आक्रोश 

‘कौन बनेगा करोडपति’मा अमिताभको प्रश्नबारे सामाजिक सञ्जालमा आक्रोश 

काठमाडौं : अमिताभ बच्चनले सञ्चालन गर्ने भारतको लोकप्रिय गेम सो ‘कौन बनेगा करोडपति’मा नेपालबारे विवादास्पद प्रश्न सोधिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका छन्।

कार्यक्रममा नेपालले जारी गरेको नयाँ नक्साबारे विवादास्पद प्रश्न सोधिएको भन्दै नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका हुन्। 

कार्यक्रममा सोधिएको प्रश्न थियो– ‘सन् २०२० मा कुन देशको संसदले आफ्नो नयाँ नक्सा स्वीकृत गर्याे, जसमा भारतको लिपुलेख, कालापानी तथा लिम्पियाधुरालाई समेटेको छ?’ 

घटनाप्रति साहित्यकार रामलाल जोशीले उक्त खेद प्रकट गरेका छन्। 

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्– अमिताभ बच्चनप्रति आदर छ। तर, उनको यो हर्कतप्रति घोर खेद छ। प्रिय अमिभाभजी, तपाईंको करोडपतिको खेलमा हाम्रो अस्मिताको प्रश्न नजोडिदिनुस, त्यो पनि आफ्नो भूमि भनेर।’

फेसबुक प्रयोगकर्ता ओमप्रकाश भण्डारीले पनि उक्त घटनाप्रति विरोध जनाएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘नेपालको स्वाधीनता र नेपालीको भावना अनादर गर्ने अमिताभ बच्चनलाई आजदेखि बहिष्कार गर्ने निर्णय गरियो...।’

सोनी टेलिभिजन च्यानलबाट गत शुक्रबार प्रशारण भएको ‘कौन बनेगा करोडपति’को १२ औं सिजनको १० औं भागमा प्रतियोगी मिर्नालिका दुवेलाई उक्त प्रश्न सोधिएको थियो। प्रश्नको अप्सनमा नेपालसहित भुटान, म्यानमार र चीन राखिएको थियो। 

प्रतियोगी दुवेले उक्त प्रश्नको जवाफ ‘नेपाल’ दिएकी थिइन्। 

प्रतिनिधिसभा संसद्ले गत जेठ ५ गते लिपुलेख, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा पारित गरेको थियो। 

तर, भारतले उक्त भूभागलाई आफ्नो दाबी गर्दै आइरहेको छ। 

२६ असोज, २०७७, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।