जहाँ मनाइँदैन दसैं

जहाँ मनाइँदैन दसैं

चाडपर्वमा घर नै मगमग बास्ना आउने तोरीको तेल पेल्ने प्रख्यात ठाउँ कता होला? स्वर्गमा पनि बखान हुन्छ रे त्यो तोरीको तेल। कहाँ पाइन्छ होला? हिन्दु धर्म मान्ने सिङ्गो गाउँमा दसैंको जमरा, टीका चल्दैन। अचम्म लाग्ला। यस्तो रहस्यमय ठाउँ कता होला?

झ्याप्प झुप्प निभ्ने बिजुलीबत्ती। साँच्चै,कहिले काहीँ बत्तीको स्वीच थिच्दा मनमा नेपालमा कहिले बिजुलीबत्ती आयो? बिजुलीबत्ती पहिले कसको घरमा बल्यो होला? त्यो सौभाग्यशाली, ऐतिहासिक व्यक्ति को थिए होलान्? सोच्नु भएको छ? यस्तो कुरा कहिल्यै मनमा आएको छ? आउनुहोस् रहस्य नै रहस्यले भरिएको काठमाडौं उपत्यकाको दक्षिणतर्फ एउटा प्राचीन बस्तीतर्फ जाऔं। 

त्यो प्राचीन बस्तीको नाम हो खोकना। बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित फरक पहिचान बोकेको छ खोकनाले। यहाँको धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विकरूपमा आफ्नै छुट्टै पहिचान छ।

विभिन्न मौलिक कला, संस्कृति र मनोरम प्राकृतिक सुन्दरताले सजिएको खोकना आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो। यहाँको भेषभूषा, जीवनशैली, भूगोल, कला, संस्कृति, सौन्दर्य आदि इत्यादिले लोभ्याउँछ। खोकनाका तीन प्रसिद्ध जात्रा छन्। सापारु, सिकाली र कात्तिक नाच। 

निलो आकाश। पारिलो घाम। बेलाबखत घुमफिर गरेर प्राकृतिक तथा साँस्कृतिक सम्पदामा रमाउने बानी लागेको मन। साँझपख साइकलमा एक फन्का मार्ने धुन चल्यो। साइकल यात्राका सौखिन दीपक श्रेष्ठलाई सुनाएँ। साँझपख हामी दुई पाउदान मार्दै खोकना जाने भयौँ।

हाम्रो योजना थाहा पाएका अर्का सौखिन गोपाल श्रेष्ठले पनि मन थाम्न सकेनन्। उनी पनि हाम्रो साथ लागे। खोकना धेरै रुट बाट पुग्न सकिन्छ। हामीले चोभार, चाल्नाखेल, बाँसबारी हुँदै चन्द्रज्योति विद्युत् गृहको जलाशय, पावरहाउस हुँदै खोकना जाने रुट तय गर्यौं।

साइकलकै माध्यमबाट खोकनामा धेरै मित्र जोड्ने अवसर मिलेको छ। खोकनाका बारे हाम्रो कौतुहल मेट्न स्थानीय मित्र श्याम महर्जनले गुठीका देव खलक बेखनर महर्जनसँग जोडिदिए। श्यामजी यस वडाका वडा सदस्य पनि हुन्।

श्याम महर्जन।

बेखनर महर्जन देव खलक मात्र होइनन्। पुरातत्त्व विभाग तथा अन्य कार्यालयमा अनुभवी तीस वर्षे सरकारी सेवाबाट अवकाश प्राप्त व्यक्ति हुन्। बेखनर महर्जनले गुठीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनले गुठीको हिसाब राख्ने, जात्राका समय चदुवा टाँग्ने, ताः बाजा बजाउने आदि गर्छन्।    

पहिलो बिजुली 

नेपालमा बिजुलीको इतिहास एक सय दस वर्ष पुरानो भयो। वि.सं १९६८ जेठ ९ गते पहिलोपटक बिजुलीबत्ती उत्पादन भयो। यसको श्रेय त्यस समयका राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई जान्छ। फर्पिङको पावर हाउसमा उत्पादित चन्द्रज्योति बिजुली खोकनाका सिद्धिलाल डंगोलको घरमा परीक्षण गरियो।

सिद्धिलाल खोकनाका म्हेः नाइके थिए। अहिलेको वडा अध्यक्ष जस्तै। परीक्षण सफल भयो। पहिलोपटक बिजुली बलेको घरलाई २०६८ सालदेखि संग्रहालय बनाइएको छ। २०७२ सालको भूकम्पले भने त्यो ऐतिहासिक घरमा क्षति पुगेको छ। 

फर्पिङ्गका विभिन्न मुहानबाट पानी संकलन गरेर सोखेल माथिको गोलाकार पोखरीमा जम्मा हुन्छ। जम्मा गरिएको पानी पाइपमार्फत सोखेलमा रहेको पावर हाउसमा खसालेर बिजुली निकालिन्छ। सोखेल पावर हाउस दक्षिणकाली नगरपालिका वडा नं. २ मा पर्छ। यसको उत्पादन क्षमता पाँच सय किलोवाट थियो। हाल विद्युत् उत्पादन नभएको स्थानीय बताउँछन्।

खोकनाको तोरीको तेल 

खोकना तेलका लागि प्रसिद्ध ठाउँ थियो । तोरीको तेल पेल्ने परम्परागत कोल खोकनाको अर्को मौलिक पहिचान हो। खोकना आउने देशीविदेशी पर्यटकहरुका लागि निकै चाखलाग्दो छ। पहिले–पहिले खोकना भएर हिँड्नेहरूले खोकनाको तेल कोसेलीका रूपमा लैजान्थे। तोरीको तेलका लागि प्रसिद्ध छ खोकना।

पहिले हिउँदमा तोरी फुलेर खोकना फाँट पहेँलपुर हुन्थे। हालका वर्षमा खोकनामा तोरी उत्पादन घट्दै गएको छ। तोरीको तेलको माग धान्न आयातित तोरीमा भर पर्नुपरेको बताउछन्। नयाँ पुस्तामा पहिले जस्तो खेतीप्रतिको आकर्षण घट्दो छ। भूकम्पपश्चात् पुरानो बस्तीबाट केही परिवार फाँटतर्फ सर्न थाले। कतिपयले त पुनर्निर्माणका लागि जग्गा पनि बिक्री गरे।    

दसैंको सट्टा सिद्धिकाली जात्रा

खोकनामा सिद्धिकाली वा सिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाबाट सुरु हुन्छ। जात्रा नवमीसम्म चल्छ। खोकनामा नवरात्रिको समयमा सिद्धिकाली जात्राको बेग्लै रौनक चलेको हुन्छ। खोकनामा तीनवटा गुठी छन्। तः गुठी, सलाँ गुठी र जः गुठी। यी तीन गुठीले सिद्धिकाली जात्रा चलाउँछन्। प्रत्येक गुठीमा तीन तीनजना नाइके तोकिएका हुन्छन्। ती नाइकेले आ–आफ्नो गुठीका लागि चोखो (दाग, खोट नभएको) राँगो छानेर ल्याउँछन्। 

तृतीयाको चार दिनअघि नै तः गुठी र सलाँ गुठीका चार–चार कुमारहरुले पूजा सामग्री संकलन गर्छन्। पूजा सामग्री संकलन गरेपछि सिकालीमा तान्त्रिक विधिअनुसार कुमारहरुको चार दिन विशेष पूजा हुन्छ। सिकाली चौरको मन्दिरमा गरिने विशेष पूजामा  मानिस, पशुपछी कुनै पनि जनावरलाई प्रवेश गर्न दिइँदैन। 

सिकाली जात्राको नाच गुठीका छ्यालीस सदस्यीय देवगणहरुले गर्छन्। देवगणका छ्यालीस सदस्यहरु महर्जन र डंगोल परिवारका हुन्छन्। देवगणका छ्यालीस सदस्यलाई आ–आफ्नो जिम्मेवारी तोकिएको हुन्छ। 

देवगणका चौध सदस्यले चौध देवीदेवताको भूमिका निर्वाह गर्दछन्। चौध देवताहरु  रुद्राणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्राणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार हुन्। हरेकले आ–आफ्नो भूमिका अनुसारको नाच नाच्छन्। बाँकी ३२ जनाले कलश बोक्ने, धुप दिने, खाना खुवाउने, बाजा बजाउने आदि इत्यादि भूमिका निर्वाह गर्नुपर्छ।  

तृतीयाको दिन खोकनाको पश्चिमतर्फको मूल प्रवेशद्वार बाहिर तीनैवटा गुठीको तर्फबाट ल्याइएको एक एकवटा चोखो राँगो काट्छन्। राँगाको रगत सिकाली चौरमा रहेको पुरानो मन्दिरमा लगेर चढाइन्छ। तृतीयाका दिनदेखि गुठीका देवता खलक जात्रा अवधिभर चोखो खान्छन्। 

चतुर्थीको छोयलाभू मनाइन्छ। छोयलाभू मनाउन तीनैवटा गुठीका सदस्यहरुको हरेक घरका घरमूली आएर भोज खान्छन्। भोजपछि तीनवटै गुठीबाट तीन तीनवटा घ्याम्पो संकलन हुन्छ।  

पञ्चमीको दिन खोकना जात्राको मुख्य दिन हो। पञ्चमीका दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ। रुद्रायणी मन्दिरबाट देवी देवतालाई बाहिर निकालेर खटमा राखिन्छ। खटमा राखिएका देवीदेवतालाई सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ। साथै तीनवटा गुठीबाट संकलन गरिएको तीन/तीनवटा घ्याम्पो दुई/दुई जनाले बोकेर सिकालीमा लिएर जान्छन्। घ्याम्पोमा घरेलु मदिरा ठों राखिएको हुन्छ।

त्यस दिन भोज खाएपछि छ्यालीसजना देवता सलाँः गुठीमा आउँछन्। पोशाक, मुखुण्डो लगाएर खोकना वरिपरि घुम्छन्। गाउँलेहरूले ठाउँ–ठाउँमा पूजा गरी बलि चढाउँछन्। मूल जात्राको दिन वडा कार्यालयको तर्फ बाट एउटा राँगो दिइन्छ। बेलुका डबलीमा वीर, भद्र र महाकालीलाई राँगो बलि चढाइन्छ। जागेर बसेका वीर, भद्र र महाकालीलाई इनावाहरु घर घरमा गएर डबलीमा ल्याउँछन्। इनावा भनेका गुठीमा काम गर्नेहरु हुन्। 

षष्टीका दिन भने सिकाली मन्दिरमा रुद्राणी देवगणहरुले नृत्य प्रस्तुत गर्छन्। स्वस्थानी व्रत कथामा उल्लेखित दक्षप्रजापतिको यज्ञ प्रसंङ्ग झल्कने नाच हुन्छ। सतिदेवीले अग्निकुण्डमा होमिएर देहत्याग गरेको। सतिदेवीले आत्मदाह गरेपछि भगवान महादेव आक्रोशमा आउनुहुन्छ। वीर, भद्र, महाकाली जटाबाट निस्किएर हवनकुण्ड नस्ट गर्छन्। हवनकुण्डको अग्नि रुद्राणी र महादेवले कुल्चदै जान्छन्। त्यस समयमा महादेवले सतिदेवी बोकेका हुन्छन्। 

सप्तमीका दिन डबलीमा लीला नाच हुन्छ। यो लीला नाच चौधजनाले प्रस्तुत गर्छन्। यो नाच कुमार र गणेशको सुमेरु पर्वत परिक्रमा कथामा आधारित छ। रुद्रायणी मन्दिरबाट मुखुण्डो लगाएका चौध जना पात्रलाई दुई दुई जनाले पाखुरामा समातेर उफार्दै डबलीमा लग्छन्। बाजा बजाउने समूह पछाडिपट्टि बस्छन्। लीला नाच देखाउने अघिल्लो पङ्क्तिमा नाच प्रस्तुत गर्छन्। यसै दिन महिसासुर बध कथामा आधारित दैत्य संग्राम नाच लीला पस्तुत हुन्छ। 

अष्टमीको दिन तीनवटै गुठीको जात्रा सम्पन्न हुने दिन हो। इनावाहरु तान्त्रिक विधिअनुसार मन्त्र उच्चारण गर्दै गाउँ घुम्छन्। जात्राको समयमा गुठीमा लगेका मन्दिरका मूर्ति पुनः प्रतिस्थापन गरिन्छ। 

नवमीका दिन चौध देवताको मुखुण्डो मन्दिरको भित्तामा टाँगिन्छ। तान्त्रिक विधिद्वारा मुखुण्डोहरु पुनः चारवटा बाकसमा थन्काइन्छ। नाचका पोसाकहरु भने सबै देउता खलकले सुरक्षितसाथ घरमा राख्छन्। 

जात्रा थन्काएपछि दशमीको दिन आराम गर्छन्। जात्राका समय आफ्ना सबै नातेदारलाई डाकेर भोज खुवाइन्छ। आफन्तकहाँ टीका थाप्न जाँदैनन्।  टीका लगाउन पनि कोही आउँदैनन्। त्यस दिन देवताको प्रसाद मात्र लगाइन्छ। आजभोलि खोकना बाहिर घर भएका आफन्तहरु कहाँ भने केही मानिस टीका लगाउन जान थालेका छन्।

सापारु जात्रा

खोकनामा मनाइने जात्राहरुमध्ये सापारु जात्रा एक हो। उपत्यकामा मनाउने गाईजात्राको भोलिपल्ट खोकनामा सापारु जात्रा मनाइन्छ। जात्राको दिन साँझपख देवपोखरीमा अनौठो कार्यक्रम हुन्छ। देवपोखरीमा जिउँदो बाख्राको पाठी फालिन्छ।

पोखरीमा फालेको पाठी समाउन पौडी खेल्दै युवाहरूबीच प्रतिस्पर्धा हुन्छ। अन्तमा जुन समूहले फेला पार्छ त्यो विजयी घोषित हुन्छ। 
चाडपर्व, जात्राको समयको अर्को आकर्षण भनेको स्थानीयहरु मौलिक पोसाकमा सजिन्छन्। पहिले हाकुपटासी, गुन्युचोली, पटुका, पछ्यौरी आदि गाउँमै बुनिन्थे। टोल–टोलमा मौलिक बाजाको धुन सुन्न पाइन्छ।  

स्थानीय परिकार

पर्यटक आकर्षण गर्ने विभिन्न पक्षमध्ये स्थानीय खानाले विशेष महत्त्व राख्छ। खोकनामा साकाहारीका लागि वः, योमरी लगायतका विभिन्न खाजाका परिकार चाख्न पाइन्छ। योमरी क्याफेमा वर्षैभरि योमरी बन्छ। मांसाहारीका लागि हाँसको छोइला, राँगाको हाकु छोइलालगायतका विविध परिकार, लोकल कुखुराका परिकार पाइन्छ। राम्रोखालको स्थानीय घरेलु मदिरा ऐला, ठों पनि चाख्न पाइन्छ। 

अन्तमा

खोकनाका पाटी, पौवा, मठ, मन्दिर, पोखरीहरू तथा ऐतिहासिक स्थलहरु निकै आकर्षक छन्। स्वस्तिक आकारमा बनेको खोकनाको वास्तुकला निकै सुन्दर छ। ऐतिहासिक कला, कौशलले भरिपूर्ण परम्परागत खोकना निकै आकर्षक छ। खोकना सानो खोकना र ठूलो खोकना गरी छुट्टाइएको छ।

​​​​​​​खोकनाको पर्यटन विकास विस्तार गर्नका लागि विशेष प्याकेज तयार गरिनु पर्छ। खोकना एक जीवित खुला संग्रहालय हो। यसको प्रचार–प्रसार र संरक्षण गरिनु पर्छ। खोकनाका बारेमा जानकारी दिने श्रव्यदृश्य सूचना सामग्री बनाउनु पर्छ। खोकनाको सम्पदा जोगाउनु स्थानीयको मात्र दायित्व होइन। राज्यले त अझ बढी प्रोत्साहित गर्नुपर्छ। 

खोकनासँग जोडिएका थुप्रै रोचक र अनौठा प्रसंङ्गहरु छन्। यतिखेर खोकनामा धान पाकेर पहेँलपुर छ। केही किसानले त धानबाली भित्र्याउन पनि थालिसके। अहिलेको माहोल निकै रमाइलो छ। यस वर्षको सिकाली जात्रा कात्तिक तीन गतेबाट सुरु हुँदैछ। जाने होइन त एकपटक खोकना इष्ट मित्र, साथीभाइ र परिवारका साथ।

२४ असोज, २०७७, ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।