सरकारी शिक्षक ४ महिनाको तलब थाप्दै, निजीकालाई चुलो बाल्नै मुस्किल

सरकारी शिक्षक ४ महिनाको तलब थाप्दै, निजीकालाई चुलो बाल्नै मुस्किल

काठमाडौं : हिन्दुहरुको मुख्य चाड बडादसैँ नजिकिनै लाग्दा सरकारी विद्यालयमा कार्यरत शिक्षक दसैँ पेस्कीसहित चार महिनाको तलब एकै पटक थाप्दैछन्। 
 

कोरोना महामारीले गर्दा चैत देखि पढाइ नभए पनि सरकारी विद्यालयमा कार्यरत शिक्षकले नियमित तलब थापिरहँदा निजी विद्यालयमा कार्यरत शिक्षकको भने चुलो बल्नै छोड्ने अवस्था सृजना भएको छ।

तलब नपाउदा दसैँ खर्च त के शिक्षकको दैनिकी नै बेखर्ची बनेको छ। शिक्षकलाई तलब दिनेबारे सरकार र विद्यालय सञ्चालकहरु उदासिन देखिदै आएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ३१ बुँदे विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना त ल्याए तर, शिक्षकको तलबको केही कुरा आएन।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का  महासचिब भोलानाथ चालिसेले सात महिनादेखि तलब नपाए पनि बैकल्पिक विधिद्वारा शिक्षण सिकाई गरिरहेका शिक्षकहरु चुलो कसरी बाल्ने भनेर छट्पटाई रहेका बताए।

‘यस्तो बेलामा हामीसँग आन्दोलन गर्नु भन्दा अर्को कुनै बिकल्प छैन ।’ उनले भने ‘विद्यालय संञ्चालकहरु घर घडेरी र गाडीको किस्ता तिर्नु पर्ने भन्दै आफ्नो दायित्वबाट पन्छी रहेका छन भने सरकार मुकदर्शक बनेको छ ।’ 

शिक्षकहरुले सरकारसँग निजी विद्यालयको औचित्य छैन भनेर राष्ट्रियकरण गर्ने वा शिक्षक तथा कर्मचारीहरुलाई तलबको व्यवस्था गर्नु पर्ने वैकल्पिक शर्त सहित आन्दोलन गरिरहेका छन्। 

इस्टुले बिज्ञप्ती जारी गदै कतिपय विद्यालयले शिक्षक कर्मचारीलाई माघदेखि नै तलब भत्ता नदिएको जनाएको छ। 

चैत्र सम्मको तलब पाउने शिक्षक/ कर्मचारीको संख्या ६० प्रतिशतको हाराहारीमा रहेको इस्टुको भनाई छ। 

चालु शैक्षिकसत्रको वैशाखबाट पुरै तलब पाउने शिक्षक कर्मचारीहरु ५ प्रतिशत पनि नभएको इस्टुले जनाएको छ। 

देशभर ८ हजार ५० भन्दा बढी संस्थागत विद्यालयमा करिव २ लाख भन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन्। 

शिक्षकहरुलाई एकातर्फ तलब नपाएको पीडा त छँदैछ त्यसैमाथि पछिल्लो चरणमा विद्यालयले धमाधम शिक्षक, कर्मचारीहरु निष्कासन गरिरहेका छन्। 

देशभरबाट हालसम्म ३ हजार भन्दा बढी शिक्षक कर्मचारीहरु निष्कासनमा परिसकेको इस्टुको भनाई छ। 

निष्कासनको मारमा सवैभन्दा बढी करारका कर्मचारीहरु र आंशिक शिक्षकहरु परेका छन्। नियमित शिक्षकहरु पनि निष्कासनमा परेका छन्।

शिक्षक कर्मचारीहरुको समस्याबाट सरकार भाग्न खोजेको आरोप उनीहरुले लगाएका छन्।

तलब नपाएका शिक्षक कर्मचारीले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन्। 

असोज ५ गते देखि पहिलो चरमा देशभरका पालिका तथा प्याव्सन र एनप्याव्सनलाई स्मरण पत्र बुझाएका शिक्षकहरुले शिक्षकले ९ गते शिक्षा तथा मानव संसाधन विकास केन्द्रका महानिर्देशक तुलसी थपलियालाई स्मरण पत्र बुझाएका थिए।

थपलियाले इस्टु, प्याव्सन, एनप्याव्सन र अभिभावक महासंघबीच छलफल गराउने आश्वासन दिए पनि उनको लगत्तै सरुवा भयो।

१२ गते शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई पुनः स्मरण पत्र बुझाएको इस्टुले मन्त्रीबाट समस्या समाधानको आश्वासन पाएन।

आन्दोलनकै क्रममा शिक्षकहरुले शनिबार र आइतबार देशका मुख्य शहरहरुमा प्रदर्शन गरेका छन्।

प्याब्सनले भने शिक्षकहरुको तलब खुवाउन ऋण खोज्दै गरेको जनाउँदै आएको छ ।


 

१८ असोज, २०७७, १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।