शब्दमाला

स्वर्गका राजाले नुहाउने दह काठमाडौंमा 


असोज सुुरु भएदेखि परेको दर्के झरी झण्डै एक सातामा थामियो। तीन साता लामो निषेधाज्ञा पनि केही दिनअघि थामियो। लामो समयदेखि चार दिवालभित्र खुम्चिएको मन। प्रकृतिले रंग फेर्दै गर्दाको दृश्य नहेरी खुम्चिएर बस्न मानेन।

शनिबारको सदुपयोग गर्न कतै न कतैको योजना त बुन्नु पर्यो। पौराणिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, पुरातात्त्विक तथा ऐतिहासिक धरोहरको संगम स्थल दहचोक जाने योजना बन्यो। 

शनिबार बिहान सोह्रखुट्टेमा भेट्ने योजना थियो। बन्दाबन्दी सुरु हुनु एक हप्ताअघि त्यो भेगको सेरोफेरो घुमेको थिएँ। तर, यो शनिबारको उत्साह बेग्लै थियो। 

बिहान सोह्रखुट्टे पुग्दा सिंहबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, रामभक्त महर्जन, मुकेश डंगोल, शैशव प्रधान सहितको साइकले समूह दहचोक चढ्ने व्यग्र प्रतीक्षामा थिए। सिंहबहादुर श्रेष्ठ सशस्त्र प्रहरी महाबलका सेवा निवृत्त महानिरीक्षक हुनुहुन्छ। बाँकी हामी सबै साइकलप्रेमी। केही समयअघि त आइजिपी सा’ब र म निकै घुमफिर गर्ने गरेका थियौं साइकलमा। दीपक दाइसँग पनि साइक्लिङ निकै पातलो भएको थियो। 

हाम्रो यात्रा विष्णुमती नदी करिडोर रोड, ताहाचल, बाफल, स्युचाटार हुँदै दहचोकतर्फ अगाडि बढ्यो। सबै सहयात्रीको थातथलो काठमाडौं नै भएकाले उपत्यकाका विभिन्न ठाउँहरूका विभिन्न अनुभवका पोका फुकाउँदै पस्कँदै गयौं। बचपन र युवा अवस्थामा बिताएका यादहरू सम्झदा निकै रमाइलो भयो।  

पाउदान घुमाउँदै, गफिँंदै आरामसँग स्युचाटार पुगियो। त्यहाँबाट कटेपछि भने दहचोक उक्लन निकै पाउदान पेल्नु पर्छ। उकालोको कठिन चुनौती पार गरेपछि ड्रिगुङ काग्युद रिन्चेन पालरी गुम्बा आउँछ। समय भए यतातिर केही समय बिताउनु बेश। हामी भने यात्रालाई निरन्तरता दिँदै उकालियौँ।  

वसन्तपुर दरबारबाट यात्रा सुरु गर्ने हो भने दहचोकसम्मको दूरी करिब १४ किमी छ। दहचोक काठमाडौंको चन्द्रागिरी नगरपालिका अवस्थित छ। क्षेत्रफलको हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका। १५ वटा वडामा विभाजित यो नगरपालिका साविकका थानकोट, दहचोक, नैकाप नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङसहित ११ गाउँ विकास समितिको एकीकृत रूप हो। साइक्लिङ, पद यात्रा, वनभोज, जैविक विविधता तथा चरा अवलोकनका लागि आकर्षक गन्तव्यहरू पर्याप्त छन् यस नगरपालिकामा।

ती विभिन्न गन्तव्यमध्ये दहचोक एक हो। समुद्री सतहबाट करिब १८७० मिटर उचाइमा रहेको दहचोक काष्ठमण्डपबाट करिब १४ किमीको दूरीमा अवस्थित छ। दहचोक चन्द्रागिरि नगरपालिकाको वडा नं १ मा पर्छ। स्वच्छ प्राकृतिक वातावरणमा रमाउँदै बिहानको छोटो दूरीको गन्तव्य हो। 

दहचोक जानुअघि यहाँको पौराणिक, ऐतिहासिक तथा धार्मिक कुराको थोरै ज्ञान राख्नु बेश। दहचोक पौराणिक कालदेखि नै तिब्बतबाट हिन्दूस्थान (भारत)को बनारस पटना आवतजावत गर्ने बाटो पनि हो। उपत्यकाबाट हिउँदमा तीर्थ जाने बाटो।  

नेपाल एकीकरणको थालनीसँगै तत्कालीन श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहले दहचोकको सामरिक महत्त्व बुझेर इं.सं १७५४ मा तुलाराम पाँडेको नेतृत्वमा आक्रमण गराए। ललितपुरका सेनाको रेखदेखमा रहेको यो दहचोक गढी गोर्खाली फौजको आक्रमण थेग्न नसकी छोडिदिए। यही गढीलाई आधार मानेर दुई दशकभन्दा बढीको अथक प्रयासपछि नेपाल एकीकरण भयो। तसर्थ नेपालको महत्त्वपूर्ण र गौरव इतिहास बोकेको गढी हो, दहचोक गढी।

दहचोक गढी। 

 कोतघर। 

अहिले पनि यहाँ कोत घर छ। कोत घरको छेउमा गढीको भग्नावशेष बाँकी छ। थाप्लोको सानो यो गाउँ कोत गाउँको नामले चिनिन्छ। एकीकरणको क्रममा पृथ्वीनारायण शाहले स्थापना गरेको मनकामना मन्दिर पनि बाटाको छेउमा छ। कीर्तिपुर आक्रमणका क्रममा सहादतप्राप्त काजी कालु पाँडेको समाधिस्थल पनि यही दहचोकमै छ। 

धार्मिक दृष्टिकोणबाट पनि दहचोक महत्त्वपूर्ण स्थानको रूपमा मानिन्छ। दहचोक इन्द्र स्थानको रूपमा पनि परिचित छ। प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र स्थानमा स्नान मेला लाग्छ। यहाँ अवस्थित दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ। त्यसैले यहाँको दह इन्द्र दहको रूपमा परिचित छ।   

किंबदन्ती अनुसार देवराज इन्द्रकी माता वसुन्धरालाई पूजाका लागि पारिजातको फूल आवश्यक पर्यो। परिजात फुल टिप्न देवराज इन्द्र धर्तीमा उत्रिए। पृथ्वी तलको त्यो बगैंचा काठमाडौंको मरु टोल रहेछ। मरु टोलका किसानका बगैंचामा पुगेर देवराज इन्द्रले फूल टिप्दै गर्दा किसानले इन्द्रलाई समात्छन्। चोरीको अभियोगमा डोरीले बाँधेर सहर परिक्रमा गराउँछन्। इन्द्रकी आमाले छोरा अबेरसम्म नफर्किएपछि इन्द्रको वाहन ऐरावत हात्तीलाई पृथ्वी तलमा पठाउँछिन्। ऐरावत हात्ती पनि किलागलका स्थानीयले समातेर राख्छन्। 

दुवै नफर्किएपछि इन्द्रकी आमा आफैंँ धर्तीमा झर्छिन्। छोरा इन्द्र खोज्दै जाँदा काठमाडौंमा बाँधेर राखेको अवस्थामा भेट्छिन्। राजासमक्ष मुद्दा पेश हुन्छ। छोरा छुटाउन स्थानीय बासिन्दाले तीन सर्त राखे। पहिलो, मरेपछि स्वर्ग जान पाउनु पर्ने। दोस्रो, उपत्यकावासीलाई कुहिरो दिनु पर्ने । यही कारण अहिले पनि उपत्यकामा धान पाक्ने समयमा कुहिरो लाग्ने गरेको मान्यता छ। इन्द्रजात्रा पछि काठमाडौंमा कुहिरो लाग्ने गरेको विश्वास गरिन्छ। तेस्रो, हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रजात्रा मनाइने र इन्द्र स्वयं उपस्थित हुनुपर्ने माग गरे। 

सोही सर्त अनुसार प्रत्येक वर्ष राजा देवराज इन्द्र इन्द्रचोकमा आएर बास बस्छन्। धर्तीमा आउँदा उनले दहचोकमा स्नान गर्ने मान्यता छ। त्यसैलै उक्त दहलाई इन्द्रदह भनिन्छ। 

यसरी वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले समातिएका व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको स्थानीय बताउँछन्। 

पूर्णिमाको अघिल्लो साँझमा दहचोकको मन्दिरमा बत्ती बाल्ने चलन छ। मृतात्माको नाममा घरको सदस्यले बत्ती बाल्नाले त्यो आत्माले मोक्ष प्राप्त गर्ने जन विश्वास छ। काठमाडौं उपत्यकासहित धादिङ, मकवानपुर, गोर्खालगायतका स्थानबाट मेला भर्न सर्वसाधारण आउने गरेका छन्।

काठमाडौं सहरबाट नजिकैको गन्तव्य हो दह चोक। यहाँबाट तीन सय ६० डिग्रीमा उपत्यकाको मनोरम दृश्य हेर्न पाइन्छ। मौसम खुलेको समयमा हिमालको चित्ताकर्षक दृश्यमा रमाउन सकिन्छ। यहाँबाट पश्चिमतर्फ गोर्खा दरबारसम्म देखिन्छ भनिए पनि हालसम्म त्यो सौभाग्य मिलेको छैन।

आजकल धमाधम होटल तथा रेस्टुरेण्ट खुल्ने लहर चलेको छ। पछिल्लो समयमा इन्द्र दहसम्म पुग्ने धेरै बाटोको निर्माण भएको छ। फर्कँदा समयको उपलब्धतासँगै विभिन्न रुट चयन गरेर फर्कन सकिन्छ। हामी भने दहचोकबाट बाड भञ्ज्याङ झरेर पुरानो नैकाप भञ्ज्याङ हुँदै कलंकी निस्कियौं। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Mana Raja Khatri

Awesome, historical, beautiful.


सम्बन्धित समाचार

साहित्यकारद्वय सुवेदी र शर्मा सम्मानित हुने

समाजले ‘कसास यात्री स्मृति सम्मान, २०७७’ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई तथा ‘कसास यात्री स्मृति सम्मान, २०७५’ साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।....

विम्बकाे अवाञ्चित प्रयोगले खस्किएको ‘बिसे नगर्चीको बयान’

उक्त कवितामा लेखिएका केही संवेदनशील पंक्तिहरूलाई यहाँ उद्धृत गर्नु उपयुक्त होला। अढाइ सय वर्षपछि आज के भयो मलाई? यो बिसेलाई दशा लाग्यो मालिक....

मसान (कविता)

उसले यही समाजमा देखेको थियो चन्दा उठाएर मन्दिर बनाएको पुराण लगाएर समाधि पुजेको वास्तवमा धर्म भनेकै समाधि पुज्नु हो किनकि यज्ञ....

अभिनेत्री पन्तले 'पिर्का' शीर्षकमा कविता लेखेपछि रविका फ्यान रिसाए

यही मेसोमा साहित्यमा समेत रुचि राख्ने अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् 'पिर्का' शीर्षकमा र सामाजिक सञ्जाल फेसबुकमा राखिन्। अहिले पिर्कासँगै अभिनेत्री पन्तको कविता पनि....

'कारा' पुस्तक समीक्षा: साहित्य जसरी नलेखिएको, वकालत क्रममा सुनेका घटनाहरूको सङ्ग्रह जस्तो उपन्यास

निरङ्कुस पञ्चायती व्यवस्थाविरूद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा जनआन्दोलनको सुरु भएको समयको सेरोफेरोको कथा हो यो उपन्यास। यो जेलभित्रको निरङ्कुशताको कथा हो। वर्षौं जेल....