व्यवस्थित जीवनशैली, स्वस्थ जीवन 

व्यवस्थित जीवनशैली, स्वस्थ जीवन 
तस्बिर : पिएनजिन्स डट कम।

दीर्घ रोगी, पाको उमेरका व्यक्ति तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोरोनाको भय तुलनात्मकरूपमा बढी हुनु स्वभाविकै हो। यस्ता व्यक्तिमा कोरोना भाइरसको जोखिम बढी हुन सक्छ। त्यसैले यस्ता व्यक्ति बढी सतर्क हुनै पर्छ। यसको अर्थ अन्य व्यक्तिचाहिँ जोखिममुक्त छन् भन्ने अवश्य होइन। यो महामारीबाट बच्न सवै सजग हुनै पर्छ। 

सजग हुने भन्दैमा काम तथा पेशा नै छोडेर घरमा बस्दा त्यसले झन तनावको स्थिति पैदा हुन सक्छ। त्यसैले कोरोनालाई छल्दै जीवनशैली सहज बनाउँदा शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले पनि लाभदायक हुन्छ। 

विभिन्न रोगको जोखिमबाट बच्नका लागि धूमपान तथा मद्यपान गर्नु हुँदैन। स्वस्थ जीवनशैली अपनाउनाले कोरोना मात्रै होइन अन्य धेरै रोगको जोखिमबाट बच्न सकिने भएकाले व्यवस्थित जीवनशैलीलाई भुल्नु हुँदैन। 

मौसम अनुसारको जीवनशैली

मौसमको परिवर्तनका कारण वातावरणीय परिवर्तनको उत्तरचढाव हुन्छ। वातावरणीय परिवर्तनले व्यक्तिको शारीरिक तथा मानसिक परिवर्तनमा पनि भूमिका खेल्छ। यसको अर्थ मौसमी परिवर्तनसँगै व्यक्तिको शरीर पनि कोमल हुन्छ। यस्तो अवस्थामा भाइरसको संक्रमणले बढी गाँज्न सक्छ। 

नेपालमा जाडो मौसम सुरु हुनै लागेको छ। जाडो मौसम सुरु भएसँगै ज्वरो आउने, रुघा तथा खोकी लाग्ने जस्तो स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। यस्तो समस्या भएको अवस्थामा व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। रुघा र खोकी लागेको तथा ज्वरो आएको समयमा कोरोनाको संक्रमण भयो भने व्यक्तिमा थप जटिलता निम्तन सक्छ। त्यसैले मौसमी खानपान र जीवनशैलीमा जोड दिनुपर्छ।

पहिलो कुरा त कोरोनाबाट बच्नु नै जरुरी हुन्छ। 

व्यायामले सकारात्मक सोच

त्यसैगरी शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक तथा वातावरणीय हिसाबले समेत सन्तुलित जीवनशैली अपनाएको अवस्थामा स्वस्थ रहन सकिन्छ। व्यक्ति स्वस्थ रहँदा भाइरसको संक्रमणले सताउने जोखिमबाट पनि बच्न सकिन्छ।

व्यक्ति शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहनका लागि सन्तुलित खानपानका साथै सन्तुलित व्यायमको पनि जरुरत हुन्छ। स्वास्थ्यका लागि बिहान आधा र बेलुकी आधा घण्टा व्यायाम गर्नु लाभदायक हुन्छ। 

बिहान व्यायाम गर्नुपूर्व उमालेर सेलाउँदै गरेको मन तातो पानी पिउनु पर्छ। व्यायाम गर्न कुनै हेल्थ क्लवमा वा घरबाहिर जानु पर्छ भन्ने पनि छैन। यस्तो महामारीको अवस्थामा घरैमा व्यायाम गर्न सकिन्छ। 

पानी पिइसकेपछि भान्सामा काम गर्दा तथा घरधन्दा गर्दा पनि व्यक्तिलाई व्यायाम पुग्छ। भाँडा माझ्ने, लुगाकपडा धुने, घर तथा गार्डेन सफा गर्दा पनि राम्र्रो व्यायाम पुगेको हुन्छ। त्यसैगरी आफूलाई मनपर्ने गीत–संगीतको धुनमा नाच्नाले पनि शारीरिक तथा मानसिकरूपमा व्यायाम पुगेको हुन्छ। 

त्यति मात्रै होइन, ध्यान तथा प्रणायाम गर्नाले पनि स्वस्थ रहन सकिन्छ। नियमित यस्ता योगा, आध्यात्मिक तथा ध्यान गर्नाले व्यक्तिको मन र मस्तिष्क शान्त रहन्छ। जसले मन खुसी भइ सकारात्मक सोचको विकास हुन्छ। सकारात्मक सोचको विकास हुँदा व्यक्तिमा सृजनात्मक क्षमतामा वृद्धि हुन्छ। व्यक्ति शारीरिक तथा मानसिकरूपमा स्वस्थ भएको अवस्थामा संक्रमण भइहालेको अवस्थामा पनि आत्मबल बलियो बनाए रोगले हुने शिथिलताबाट बच्न सकिन्छ। 

बिहानदेखि बेलुकीसम्मको खानपान

आधुनिकरूपमा प्रशोधन गरि तयार पारिएका खानपिनभन्दा प्राकृतिक खानपानमा जोड दिन आवश्यक हुन्छ। मौसम अनुसारका प्राकृतिक खानपानमा ध्यान दिने हो भने पनि व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। 

जीवन जिउनका लागि स्वस्थ खानपान आवश्यक हुने भएकाले स्वस्थकर खानपानमा नै जोड दिनुपर्छ। खनपान पनि सन्तुलित र व्यवस्थित हुनु पर्छ। 

बिहान उठ्नासाथ पानी पिइसकेपछि सवै उमेर समूहका व्यक्तिले मनतातो पानी पिउनु पर्छ। त्यसपछि बिहान ८ बजे खाजाका रूपमा मकै, भटमास, मकै, कोदो, जौं, गहुँ वा चामलको रोटी खानु उपयुक्त हुन्छ। 

त्यसैगरी, यस्ता खाजासँगै मौसम अनुसार उपलब्ध हुने ताजा फलफूल, सलाद तथा जुस खान सकिन्छ। यस्ता फलफुल, जुस तथा सलाद पनि एकै चोटी धेरै नखानु नै उचित हुन्छ। त्यसैगरी खाजाकै रूपमा ओखर, बदाम, काजु, पेस्ताजस्ता ड्राइफुड पनि खान सकिन्छ। 

बिहान ११ बजे खाना खानु उचित हुन्छ। उपलब्धता तथा आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरेर खानाको छनोट गर्न सकिन्छ। बिहानको खानाका रूपमा च्याँख्लाको भात, ब्राउन राइस (चामल)को भात, ढिंडो खानु उचित हुन्छ। उपलब्धता अनुसार तरकारी खान सकिन्छ। 

दिउँको करिव ३ बजे खाजा खानु उचित हुन्छ। हल्का लाइट किसिमको खाजा खानु पर्छ। चिउरा, तरकारी, रोटी, फलफूल तथा जुस खाजाको रूपमा खानु उचित हुन्छ। 

बेलुकी साढे ८ बजेसम्म खाना खाइसक्नु राम्रो हुन्छ। बेलुकीको खाना पनि आफ्नो कामको प्रकृतिअनुसार खान सकिन्छ। 

शारीरिक परिश्रम बढी गर्नु पर्ने व्यक्ति अलि बढी खाना खान सक्छन्। तर, शारीरिक परिश्रम कम गर्नु पर्ने व्यक्तिले भने हल्का किसिमको खाना खानु नै उचित हुन्छ। बेलुकीको खानाका रूपमा कोदोको सुप, ब्राउन राइसको सुप, च्याउको सुप, मिक्स भेजिटेबलको सुप, मासुको सुप खानु उचित हुन्छ। तर, बालबालिकाको हकमा भने उमेर तथा शारीरिक तौल अनुसारको खानपानको छनोट गर्नु पर्छ। 
त्यसैगरी ७/८ घण्टा मस्त निदाउनु पर्छ। मस्त निदाउनाले शारीरिक तथा मानसिक स्वास्थ्यमा लाभ मिल्छ। 

भान्सामा भित्र्याउने तरिका

यस्तो संक्रमणको समयमा घरबाहिर जथाभावी खानपान गर्नु हुँदैन। भान्सासम्म आइपुग्ने खाद्यपदार्थ पनि निकै सावधानीपूर्वक भित्र्याउनु पर्छ। भान्सासम्म आइपुग्ने खाद्यपदार्थमा विभिन्न किसिमका रोगका भाइरस (जीवाणु) र ब्याक्टेरिया (किटाणु) हुन सक्छन्। विभिन्न खाद्यपदार्थमा टाँसिएर कोरोना भाइरस पनि भान्सामा भित्रिन सक्छ। त्यसैले भान्सासम्म पुग्ने खाद्यपदार्थ राम्रोसँग पखालेर वा केही घण्टाबाहिर घाममा राखेर मात्रै भित्र्याउनु पर्छ।

फलफूल तथा तरकारीलाई करिव ३० मिनेट तातोपानीमा नुन हालेर डुबाउनु उचित हुन्छ। त्यसपछि राम्रोसँग बगेको पानीमा पखाल्नु पर्छ। जसले केही हदसम्म भए पनि संक्रमणको जोखिमबाट बच्न सकिन्छ। 

मासुका परिकार राम्रोसँग पकाएर मात्रै खानु पर्छ। राम्रोसँग पकाएर नखाएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ। त्यसैगरी अन्य परिकार पनि राम्रोसँग पकाएर मात्रै खानु पर्छ। 

जीवनशैली व्यवस्थित गर्नाले विभिन्न रोगको प्रकोपबाट बच्न सकिन्छ।
 

१७ असोज, २०७७, १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।