भैरहवा : रूपन्देहीको सैनामैना नगरपालिका–४ का युवा प्रेमसागर पौडेल र उनकी श्रीमती ज्ञानकुमारीले व्यावसायिक बाख्रापालन गरेका छन्।
उकेरा फिचर
व्यावसायिक कृषिमा युवा

प्रेमसागरले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र ज्ञानकुमारीले संयुक्त अधिराज्य (युके)बाट बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।
राम्रो शिक्षा आर्जन गरेका उनीहरू बाख्रापालनमा अब्बल ठहरिएका छन्। बिहानदेखि साँझसम्म बाख्राको स्याहारसुसारमा कामदारसँगै खटिने पौडेल दम्पती युवापुस्ताका लागि उदाहरण हुन्।
आठ वर्षअघि व्यावसायिक बाख्रापालन सुरु गरेका उनीहरूले फार्ममा विभिन्न जातका साढे चार सयभन्दा बढी बाख्रा पालिरहेका छन्।
यहाँ ४७ किसिमका घाँसको बीउ र बेर्ना उत्पादन हुँदै आएको छ।
प्रेमसागर भन्छन्, ‘हामीले युवालाई व्यवसायमा लाग्न प्रेरणा मिलोस् भनेर शिक्षाभन्दा फरक पेसा अँगाल्यौं। सोचेअनुसार फर्मबाट आम्दानी पनि राम्रो भइरहेको छ।’
वार्षिक एक करोड रूपैयाँ कारोबार गर्ने उनीहरू मुनाफा पनि मनग्ये हुने गरेको बताउँछन्।
शुद्धोधन गाउँपालिका–३, बेताहानीका युवा सन्दीप खनालले एसके गट फार्ममार्फत् व्यावसायिक बाख्रापालन गरेका छन्। सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रापालनमा होमिएका खनालको फार्म युवाका लागि अर्को प्रेरणाको स्रोत हो। खनालले व्यावसायिकरूपमा पाँच सयभन्दा बढी बाख्रापालन गर्दै आएका छन्।
यो फार्म हेर्नलायक छ। युवाको कडा मेहेनत देखेर फार्म हेर्न आउने जो कोही प्रशंसा गर्छन्।
‘अवलोकन गर्न आउने महानुभावको प्रशंसाबाट हामीलाई थप ऊर्जा मिल्छ,’ खनाल भन्छन्, ‘मेहेनत गर्यो भने राम्रो गर्न सकिन्छ। हामीजस्ता युवा केही न केही उद्यममा जोडिनुपर्छ,’ उनले भने।
उनले जागिर छाडेर बाख्रापालनमा लाग्दा पढेलेखेको युवाले यस्तो के गर्याे भन्दै कतिपयले खिसिट्युरी गरे। परिवारका सदस्यहरूले पनि साथ दिएनन्। तर, अहिले परिवारले मात्रै होइन, सबैले प्रशंसा गरिरहेका छन्।
व्यावसायिक कृषिमा होमिएका अर्का युवा हुन्, शुद्धोधन गाउँपालिका–३, का वडाअध्यक्षसमेत रहेका हेमबहादुर खड्का ‘शिव’।
उनले शुद्धोधन–४, जुगडिहवामा साथीहरू बालकृष्ण पराजुली र खोमबहादुर केसीसँग मिलेर फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेका छन्।
उनीहरूले दुई हजार लोकल कखुरा पालिरहेका छन्। फार्ममा ‘घाँटी खुइले’, ‘उल्टे’, ‘सुल्टे’, ‘कडकनाथ’लगायत स्थानीय जातका कुखुरा पालेको खड्काले बताए।
उनीहरूले दुई करोड रूपैयाँ लगानी गरी व्यावसायिक कृषि फार्म सुरु गरेका हुन्।
उनीहरूले अघिल्लो वर्षदेखि तीन बिघा जमिन लिजमा लिएर फार्म सञ्चालन गरेका हुन्। फार्ममा लोकल कुखुरासँगै सात सय चाइनिज हाँस, चार वटा पोखरीमा २५ हजार माछाका भूरा, विभिन्न जातका ८० बाख्रा पालिएका छन्।
भन्छन्, ‘म जनप्रतिनिधि मात्रै होइन्, कृषक पनि हुँ। मैले हरेक युवालाई उद्यमसँग जोडिनुपर्छ भनेर प्रोत्साहन गर्छु। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन युवाको भूमिका रहन्छ।’
उनीहरूजस्तै व्यावसायिक कृषिमा लागेका अर्का युवा हुन्, सियारी गाउँपालिका–३, लक्ष्मीपुरका सुवास कुर्मी।
उनले शान्ति उन्नत पशुपालन तथा माछा फार्म स्थापना गरेका छन्। उनले आठ माछा पोखरी र विभिन्न प्रजातिका २८ वटा गाई छन्।
उनको परिश्रम देख्ने जो कोही लालायित हुन्छन्। ‘यहाँ आउनेले अब हामी पनि कृषि पेसा नै गर्छौं भनेर फर्किनुुहुन्छ,’ कुर्मी भन्छन्।
यी उदाहरण मात्रै हुन्, पछिल्लो समय रूपन्देहीमा व्यावसायिक कृषि गर्ने युवा बढिरहेका छन्।
कृषिबाट मनग्ये आम्दानी हुने भएपछि युवापुस्ता कृषिमा लागेका हुन्। कोरोना भाइरस (कोभिड १९)को महामारीले कृषि क्षेत्रमा पनि प्रभाव पारे पनि लगानी बढिरहेको छ।
बर्सेनि खर्बौंको कृषि उपज बाह्य मुलुकबाट आयात गर्नुभन्दा राज्यको नीतिअनुसार युवा व्यवसायमा जोडिनु पर्ने खड्का बताउँछन्।
स्थानीयस्तरमा अग्र्यानिक उत्पादन हुँदा खरिदबिक्री राम्रो हुने गरेको छ। रूपन्देही सुगम जिल्ला र कृषिका लागि उर्वरभूमि भएकाले पनि यहाँ कृषि क्षेत्रको राम्रो सम्भावना छ।
खनाल भन्छन्, ‘बजारीकरणको कुनै समस्या छैन। फार्ममै खरिदकर्ता आउने गर्छन्। हामीले यहाँ उत्पादन गरेका खसीबोका काठमाडौंदेखि पोखरासम्म पनि पठाउने गरेका छौं।’
कतिपय ठाउँमा व्यावसायिक माछा र कुखुरापालन गरेका युवाले फार्मसँगै रिसोर्टसमेत सञ्चालन गरेका छन्, जसले गर्दा फार्म हेर्ने र विभिन्न परिकारको स्वाद लिनेहरूको भीड लाग्ने गरेको छ।
केही कृषि फार्मले आन्तरिक तथा बाह्य पर्यटकबाट समेत आम्दानी गर्दै आएका छन्। सरकारले कृषिमा अनुदान बढाउने, तालिम, सडकमार्ग विस्तारमा विशेष ध्यान दिने, लगानीमैत्री वातावरण बनाउने हो भने कृषिमा युवाको आकर्षण बढ्ने खनाल बताउँछन्। परिश्रमी युवालाई देशमै धेरै अवसरले पछ्याउने गरेको कृषिमा होमिएका युवा बताउँछन्।
युवा कृषक प्रेमसागर भन्छन्, ‘केही गर्छु भन्ने अठोट राख्ने युवा विदेशिनु पर्दैन। मुलुकमै कयौं अवसर छन्। विदेशमा बगाउने पसिना आफ्नै भूमिमा बगाउने हो भने दोब्बर कमाउन सकिन्छ।’
२०७७ असोज ११ गते १७:५१ मा प्रकाशित