जन्मथलो टेके, दैलो टेक्न पाएनन्

जन्मथलो टेके, दैलो टेक्न पाएनन्

बाबुको अभावमा बाबुजस्तै माया र अभिभावकत्व दिने दाजु विदेशबाट घर आउँदै गरेको खबरले बहिनीमा पनि खुसीको सीमा नै थिएन।

जेठो छोरा लामो समयपछि घर आउने खबरले आमा सुदे बोहरा पनि खुसी नहुने त कुरै भएन।

घर छोड्दा बाबु भनेर चिन्ने अवस्थामा नरहेको छोरा पदम पनि उनी घर आउँदा चार वर्ष पुगिसकेको छ।

तोलिगाउँका ३५ वर्षीय पदमबहादुर बोहरा घर आउने खबर मात्रै पुग्यो।  तर, उनले घरको आँगनमा पाइला टेक्न पाएनन्।

जन्मभूमिमा उनले पाइला त टेक्न पाए। तर, घर नपुग्दै बीच बाटोमै सदाका लागि अस्ताए।

उनी आउने बाटो कुरेर बसेका परिवारले जब उनको मृत्युको खबर सुने। तब परिवार मात्र होइन, सिंगो गाउँ, आफन्त र इष्टमित्र सबै भावबिह्वल बने। 
घटना गत शुक्रबारको हो। बिहान गाडीबाट वडा नम्बर १ को पुचौंडी हाट पुगेका पदमबहादुर घर र बजारको बीच हरफोड मोडमा मृत भेटिएका हुन्।

वडाअध्यक्ष दलबहादुर धामीका अनुसार तीन–चारवटा झोला एक्लैले बोकेका उनी पैदलै हिँडेर ४–५ किलोमिटर उकालो काटेका थिए। 
थकाई मार्न बसेका उनीले त्यही ठाउँमा प्राण त्यागेका वडाअध्यक्ष धामीले बताए।

‘बाटो हिन्ने बटुवाहरूले पनि सुतेका होलान् भनेर ख्याल गरेनन्,’ धामीले भने, ‘कन्ट्याक ट्रेसिङका लागि भटना जान लागेको स्वास्थ्यकर्मीको टोलीले उनको ज्यान गएको चाल पाएका हुन्।’

तीन वटा झोला छेउमै राखेर उनी ढलेको दृश्य हृदयविदारक छ। यतिबेला त्यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

दाजुको मृत्युको खबर सुनेर घटनास्थल पुगेकी बहिनी अम्रिताले शव नै छुन पाइनन्। न आफन्तले नै उनको अन्तिम संस्कार गर्न पाए।चिकित्सकका अनुसार बिहान करिव ११ देखि १२ बजेको बीचमा उनको मृत्यु भएको हो। 

मृत्युपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ। जसले गर्दा ३६ घण्टासम्म पदमबहादुरको शव घटनास्थलमै रह्यो। शनिबार राति ८ बजे मात्र नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छ।

‘भारतीय सीमा नाका गौरीफन्टा पुगेपछि दाइले ‘स्वस्थ पुगे भाइ’ भनेर फोन गर्नुभएको थियो,’ माइलो भाइ ईश्वरले भने ,‘तर, घर नपुग्दै बाटोमै ज्यान गएको खबर सुनियो।’

खाना र पानी नपाएर नै दाजुले ज्यान गुमाउनु परेको ईश्वरको आशंका छ।

भारतबाट आएको भन्दै बाटोमा कसैले खानासमेत नदिएको र पुचौंडी हाटमा पनि पानीसमेत पिउन नदिएको आफूले सुनेको उनले बताए।

‘पुचौंडी हाटमा एक व्यापारीले चाउमिन पनि बसेर खान नदिएर प्लास्टिकमा प्याक गरेर दिएको सुनियो,’ ईश्वरले भने, ‘पैसासमेत लिन नमानेर पछि दिनु भन्दै पठाएको बुझिएको छ।’

पैसासमेत नलिनेले पानी पिउन दिएको होला भन्ने विश्वास नभएको उनले बताए। तीन वटा झोला बोकेर उकालो हिँड्दा भोक र पानीको अभावले ज्यान गएको उनले दाबी गरे।

सानैमा बुबा गुमाउँदाको पीडा दाइको अभिभावकत्वले विर्सिएका ईश्वर, करन र अम्रिता पुनः टुहुरा बनेका छन्।

‘मेरो परिवारले त दुःख मात्र पाउन लेखेको रहेछ,’ गोरखाबाट घर फर्किन लागेका ईश्वरले भने, ‘मेरो परिवारजस्तो दुःख कसैले भोग्न नपरोस्।’ 
ईश्वर गोरखामा र करन मुगुमा अध्यापन गर्छन्। 

सानैमा बुबा बितेपछि आमासहित चार भाइबहिनीको लालनपालन र शिक्षादिक्षाको जिम्मा पदबहादुरकै भयो।

परिवार पाल्न कक्षा ५ मै पढाइ छोडेर भारत गएका उनले भारतकै कमाइबाट दुई भाइ स्नातकोत्तर (डिग्री)सम्म अध्ययन गराए भने कान्छी बहिनी स्नातक अध्ययनरत छिन्।

सानै उमेरमा सिंगो परिवारको लालनपालन र भाइबहिनीको शिक्षादिक्षाको जिम्मेवारी बहन गरेका पदमबहादुर निकै मेहेनती र सोझो स्वभावको भएको वडाअध्यक्ष धामी बताउँछन्।

 

११ असोज, २०७७, १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।