साइकलमा सूर्यविनायक फन्को

साइकलमा सूर्यविनायक फन्को
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित साँगाबाट भञ्ज्याङतर्फ जाने बाटो।

लगभग तीन महिनामा बन्दाबन्दी खुकुलो भयो । खुकुलो भन्नु मात्र । चहलपहल ह्वात्तै बढ्यो । चहलपहल बढेसँगै संक्तमितको संख्या पनि बढ्यो । सरकारलाई चुनौती थपियो । केन्द्र सरकारले निर्णयको अधिकार स्थानीय निकायलाई सुम्पियो । उपत्यकाका नगरपालिकाहरुको फोरम र तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले २०७७ भदौ ३ गते राति १२ बजेबाट एक साताका लािग निषेधाज्ञा जारी गरे । निषेधाज्ञा अरु तीन हप्ता लम्बियो । परिस्थिति जटिल भयो । अझै कति कठिन समय गुजार्नुपर्ने हो, हेर्नु नै छ । जटिल परिस्थितिमा सामाजिक, भौतिक दूरी पनि कायम राख्दै कामकाजमा पनि जानु छ । जटिल परिस्थितिमा शारीरिक तथा मानसिक स्वास्थ्य सन्तुलित राख्नु आवश्यक छ । भौतिक दूरी कायम गर्दै कामकाजमा जान र व्यायाम  गर्न सजिलो साधन साइकल हुन सक्छ । 

दोस्रो पटकको बन्दाबन्दी भनौं वा निषेधाज्ञा, खुकुलो भएसँगै अन्योल र अनिश्चितताको घेराबाट बाहिर निस्कने जमर्को गरेर साइकलका पारखी दीपक श्रेष्ठको साथमा साइकल लिएर निस्कियौं । विगतमा हामी दुईले उपत्यकाभित्र र बाहिरका धेरै गन्तव्यमा पाउदान चलाएका थियौं । भदौ २५ बाट खुकुलो भएसँगै साइकलमा पुनः घुमघाम सुरु गरियो । 

साहसिक साइकल यात्राका पारखी हुन् दीपक श्रेष्ठ । सन् १९८५ ताका नै उनले साइकलमार्फत देशका लगभग साठी जिल्ला घुमेको अनुभव सुन्दै साइक्लिङ गर्नु निक्कै रोचक हुन्छ । त्यस समयमा उनको उमेर करिब २१/२२ वर्षको  हुँदो हो, अग्रज दौंतरी प्रदीप श्रेष्ठ र कन्हैया श्रेष्ठको साथ चौध अञ्चलमध्ये बाह्र अञ्चलका विभिन्न स्थान घुमेको अनुभव अझै ताजा छ । धवलागिरी अञ्चलमा भने पाइलो मात्र हाल्न पाएको बताउँछन् । लगभग पैंतीस वर्षअगाडिको नेपालमा साइकलमार्फत भ्रमण गरेको कहानी सुन्दा निक्कै रोचक लाग्छ । गत वर्ष साइकलमै फू, नार, काङ्गला पास, तिलिचो, इस्टर्नपास, मेसोकान्तो हुँदै जोमसोम झरेको अनुभव छ उनीसँग । सन् १९८५ देखि नै नेपालमा माउण्टेन बाइकिङ चिनारी गराउने पहिलो पुस्ताका व्यक्ति हुन् दीपक श्रेष्ठ । आउनु होस् आज हामी दुई सँगै सूर्य विनायक नगरपालिकामा अवस्थित दुई गन्तव्यतर्फ लागौं । 

१. आशापुरी 

सूर्यविनायक नगरपालिका बागमती प्रदेशको भक्तपुर जिल्लामा अवस्थित छ । उपत्यकाका प्रसिद्ध चार विनायकमध्ये एक सूर्यविनायकको नामबाट नगरपालिकाको नामकरण भएको हो । प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ सूर्यविनायक नगरपालिका । साइकल यात्रा, पदयात्रा, वन भोज, चरा अवलोकन, वनस्पति उद्यान अवलोकन तथा धार्मिक तीर्थाटनका लागि अनेकन प्रसिद्ध गन्तव्यहरु छन् यस नगरपालिका भित्र । आउनुहोस् ती विभिन्न गन्तव्यहरुमध्ये शहरको केन्द्रबाट अलि परको एक, आशापुरी जाऔं । काठमाडौं उपत्यका आसपासमा रहेका विभिन्न धार्मिक स्थलमध्ये आशापुरी महादेव पनि एक हो ।

साइकल यात्रा गर्दा आशापुरीलाई गन्तव्य मानेर यात्रा गर्ने हो भने विभिन्न रुटहरु चयन गर्न सकिन्छ । तीर्थाटन गर्नेहरुले भने पशुपतिनाथबाट यात्रा सुरु गर्न सक्छन् । कोटेश्वर, जगाती, साँगा भञ्ज्याङ्गसम्मको करिब २० किमी तय गरेर दाँयातर्फ उकालो लाग्नु पर्छ।

समुद्र सतहबाट करिब १७५० मिटर उचाइको चढाइपश्चात् अढाई किमी ओरालो लागेपछि आशापुरी पुगिन्छ । आशापुरी महादेवको मन्दिर समुद्र सतहबाट करिब १६३० मिटर उचाइमा अवस्थित छ । मन्दिर परिसर भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा विभक्त छ । मन्दिर भने सूर्यविनायक नगरपालिका वडा नं. आठमा पर्छ ।

धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल या त्रिवेणीभन्दा फरक नपर्ला । हिन्दू धर्मावलम्बी तथा बौद्ध मार्गीको समान आस्थाको केन्द्र हो आशापुरी । आशापुरी महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । साउन महिनाको सोमबार, माघ महिना तथा शिवरात्रि जस्ता पर्वहरुमा भक्तजनहरुको भीड लाग्छ ।

संयोग नै मान्नु पर्छ । एक महिनाको फरकमा दुईपटक पुगियो । तर दर्शन गर्न पाइएन । करिब पच्चिस वर्ष पहिले पहिलोपटक हाइकिङ गर्दै आशापुरी पुग्दा अहिलेजस्तो घर पसलहरु थिएनन् । समयक्रमसँगै गोरेटो बाटो विस्तार भएर सडक सञ्जालमा जोडिएको छ । चहलपहल बाक्लै छ । यसको आसपासमा खाना तथा बसोबासका लागि होटल खुल्ने क्रम जारी छ । सडक सञ्जालले पहुँच सहज भए तापनि प्राकृतिक सौन्दर्यताको याद भने पहिलेकैले जितिरहन्छ । आशापुरी महादेव स्थान पुगेपछि साइक्लिङका धेरै गन्तव्य चयन गर्न सकिन्छ । यहाँबाट नजिकका गन्तव्यहरु रानीकोट, पाइलट बाबा आश्रम, आशापुरी, माने दोभान आदि हुन् । केही समयको चिया विश्रामपश्चात हामी डोलेश्वर महादेवतर्फ लाग्यौं । 

२. डोलेश्वर 

डोलेश्वर महादेव स्थान सूर्य विनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा अवस्थित छ । डोलेश्वर महादेव श्री केदारनाथको शिर भागको रुपमा पुजिन्छन् ।

२०६६ सालमा केदारनाथका मुख्य पुजारीले डोलेश्वर महादेव श्री केदारनाथको प्रमुख भाग भएको बताए । यसपश्चात् डोलेश्वर महादेवको व्यापक प्रचार भयो । जसले गर्दा डोलेश्वर महादेव मन्दिरमा हजारौं हिन्दु धर्मावलम्बी भक्तजनहरुको भीड लाग्छ । साउन महिनाको सोमबार, बाला चतुर्दशी, माघ महिना तथा शिवरात्रिजस्ता पर्वहरुमा भक्तजनहरुको भीड लाग्छ । केदारनाथको शिर भाग कसरी यहाँ स्थापित भयो भन्ने किंवदन्ती यहाँका पुजारीबाट सुन्न पाइन्छ ।   

हाल महादेव मन्दिरको पुनर्निर्माण कार्य जारी छ । पुरानो मन्दिरलाई नयाँ मन्दिरको स्वरुपले विस्थापित गर्दै छ । केही वर्षयता यस क्षेत्रमा धार्मिक पर्यटन बढेको छ । यस भेगमा भौतिक पूर्वाधारको विकाससँगै बस्ती बाक्लिँदो अवस्थामा छ ।  

आशापुरीबाट डोलेश्वर करिब छ किमीको दूरीमा छ । आशापुरीबाट अलि उकालो लागेपछि १७९० उचाइको भञ्ज्याङ पुगिन्छ । यहाँबाट काठमाडौं उपत्यकाको मनमोहक दृश्य देखिन्छ ।

आकाश खुलेको बखत हिमालको दृश्य हेरेर रमाउन सकिन्छ । यहाँ सेल्फी र टिकटक छायाङ्कन गर्नेको लर्को लाग्छ । फोटो विश्रामका लागि केहीबेर यता रोकिनु वेश ।  भञ्ज्याङबाट ओरालो लागेपछि करिब १५०० मिटरको उचाइमा अवस्थित डोलेश्वर महादेवको मन्दिर पुगिन्छ । पशुपतिनाथबाट कोटेश्वर, जगाती, साँगा भञ्ज्याङ, आशापुरी महादेव हुँदै डोलेश्वरसम्म आइपुग्दा करिब ३२ किमीको दूरी तय हुन्छ ।

   

एउटा अचम्म । नेपालको जुन ठाउँ पुग्यो त्यहाँ एउटा रोचक प्रसंग भेटिन्छ । त्यो धार्मिक पक्षसँग जोडिएको हुन सक्छ वा पौराणिक कथा किम्बदन्तीसँग । कतिपय प्रसंग ऐतिहासिक वा प्राग ऐतिहासिक प्रसंगसँग पनि जोडिएका हुन सक्छन् । जुन ठाउँमा गए पनि सबैको आ–आफ्नै रोचक प्रसंग भेटिन्छ । अझ प्राकृतिक सौन्दर्यता जैविक विविधताका सौन्दर्यले त मन त्यसै पुलकित बनाउँछ । त्यसैले त फुर्सद भयो कि साथी, भाइ वा परिवारसँग घुम्न जान मन लाग्छ ।  

यही मेसोमा हामी दुईले गत शनिबार पशुपतिनाथ प्राङ्गणमा भेट गर्याैं । आशापुरी र डोलेश्वर महादेवको परिक्रमा गरेर पशुपति प्राङ्गणमै यात्रा विसर्जन गर्दा ५४ किमी दूरी तय भयो । हामी आशापुरीमा पुगेपछि साइकलका अर्का सौखिन मित्र शैशव प्रधानसँग फोन सम्पर्क भयो । हामीसँगैको यात्रामा साथ दिन डोलेश्वर आइपुगे । फर्कँदा भक्तपुरका सांस्कृतिक सम्पदा फन्को मार्दै फर्कियौं ।    

संक्रमणका बीच भय, त्रास, अन्योल, अनिश्चितताका सीमित घेराका बीच खुम्चिएर बस्नुपर्दा शारीरिक, मानसिक स्वास्थ्यका साथै आर्थिक अवस्थामा समेत निक्कै असर पर्न सम्छ । सुरक्षित विकल्प अवलम्बन गर्दै सचेत भएर आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आइपरेको छ । साइकल आफ्नो स्वास्थ्यको ख्याल गर्नेहरुका लागि उपयुक्त साधन हो । उपत्यकाका वरिपरि विचरण गर्ने मनग्ये ठाउँहरु छन् । उपत्यकाका छोटा दूरीमा साइक्लिङ गरौं । शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ निरोगी बनौं । कोरोना संक्रमण परास्त गरौं । 

१० असोज, २०७७, १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।