उकेरा फिचर

सिंगो गाउँ नै शाकाहारी

गाउँका कसैले गर्दैनन् मध्यपान र धुम्रपान

सुजीतकुमार झा


जनकपुरधाम : एउटा व्यक्ति वा परिवार शाकाहारी छ भन्ने त प्राय सुनिन्छ नै। तर, सिंगो गाउँ नै शाकाहारी छ भनेर सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। रौतहटमै छ पुरै शाकाहारी गाउँ।
 

चन्द्रपुर नगरपालिका–९ नजरपुर गाउँका कसैले पनि मांशाहारी बस्तु खाँदैनन्। यहाँका करिब चार सय घरमध्ये कुनैमा पनि कुखुरा, हाँसलगायत पन्छी तथा खसी–बोका पालिएको छैन। 

वर्षौंदेखि गाउँलेले काटमार, मदिरा, सुर्तीजन्य पदार्थ सेवन र जुवातास निषेध नै गरेका छन्। प्रदेशकै नमुना धार्मिक गाउँ अहिले निजानन्दधामका नामले प्रसिद्ध छ।

रौतहटमा नजरपुर ‘नमूना’ बस्तीका रूपमा चिनिन्छ । मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन गरी आउने पाहुनालाई यहाँका स्थानीयले बाससमेत दिँदैनन नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले वताए ।

झैझगडासमेत नहुने हुँदा यो गाउँबाट अहिलेसम्म अदालतमा एउटापनि मुद्दा  परेको छैन उनले वताए ।

तीन वर्षअघि धार्मिक उत्सवका क्रममा यहाँ आएका पूर्वराष्ट्रपति रामवरण यादवले नजरपुरलाई ‘स्वर्गको एउटा गाउँ’ भनेका थिए। 

नजरपुर प्रदेशको धार्मिक पर्यटकीय गन्तव्यमा समेत सूचीकृत छ। २०२० सालदेखि बस्ती बस्न थालेको गाउँका प्राय घरमा भगवान कृष्णको पूजा गरिन्छ। 

गाउँका सबैले कृष्ण प्रणामी धर्म मान्दै आएका छन्। गाउँलेकै सक्रियतामा नजरपुरलाई २० वर्षअघि पूर्ण साक्षर बनाइएको शिक्षक उद्ववप्रसाद पौडेलले बताए ।

गाउँको मध्यभागमा निर्माण गरिएको कलात्मक कृष्ण प्रणामी मन्दिरले सबैको ध्यान खिच्ने गरेको छ। 

मन्दिर परिसरमा रमणीय सुन्दर बगैंचा छ। मन्दिरमा विद्यालय, पाकशाला, वृद्धाश्रम, धर्मशाला सञ्चालन हुँदै आएको मन्दिर समितिका अध्यक्ष दाताराम दाहालले बताए ।

उनका अनुसार सो मन्दिरको पूर्वाधार निर्माण गर्नकै लागि १ करोड ५० लाख रुपैयाँ भन्दाबढी खर्च भइसकेको छ। 

यस क्षेत्रमा २०२२ सालदेखि निरामिषभोजन प्रयोग गर्ने शुद्धशाकाहारी कृष्णप्रणामी भक्तजनहरूको बसोबास रहेको इतिहास छ।

उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय एवं सामाजिक सेवाको प्रेरक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले काम भैरहेको अध्यक्ष दाहालले बताए।

‘यस क्षेत्रलाई हिंसारहित धार्मिक, सामाजिक, पर्यटकीय स्थलको रुपमा विकास गर्दै आध्यात्मिक मार्गबाट सामाजिक, सांस्कृतिक र पर्यटन विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ’ दाहालले भने।

गाउँमा रहेका ६ वटा किराना पसलमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री नै हुँदैन।

लामो समयदेखि किराना पसल संचालन गर्दैआएका स्थानीय डिल्लीप्रसाद देवकोटाले पानपराग, खैनी, बिँडी, चुरोट र मदिरा केही पनि बिक्रीका लागि नराखेको सुनाए।

स्थानीयलाई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ राख्ने अभियान चलाइएको छ ।

नजरपुरका अधिकांशको मुख्य पेसा कृषि हो। गहुँ, धान, दूध र मकैको बीउ उत्पादनका लागि गाउँ प्रख्यात छ। 

दुग्ध सहकारी र केही कृषि सहकारीसँगै बीउ उत्पादन कम्पनीसमेत गाउँमा छ। नमूना महिला कृषक सहकारी संस्थाले प्रदेशकै नमुना बीउबिजन उत्पादन गरी देशैभर बिक्री वितरण गर्दै आएको छ।

गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा अझै विकसित गर्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव श्रेष्ठको भनाइ छ । पूर्णरूपले जातीय, क्षेत्रीय तथा लैंगिक विभेदमुक्त गाउँका सबै घरमा व्यवस्थित शौचालय छ ।

उक्त गाउँमा कानुन विपरितका कुनै पनि कार्य हुँदैनन्। यस गाउँमा चार दशकयता कसैको पनि अदालतमा मुद्दा नपरेको सुन्दा अचम्म लागेको समाजवादी पार्टीका नेता राजिव झाले बताए ।

नमुना गाउँ घुम्न विभिन्न ठाउँबाट मानिसहरु त्यहाँ पुग्ने गरेका छन्। झा पनि केही दिन पहिले त्यो गाउँमा घुम्न गएका थिए।  

नमुना गाउँका रूपमा विकसित नजरपुरको आधुनिकीकरणका लागि ढल, सडक तथा कृषि प्रविधिका लागि बजेट आवश्यक रहेको चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बताए।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....