कौसीमै करेसाबारी

कौसीमै करेसाबारी
मिना कार्कीको कौसिमा लगाईएको तरकारी र फलफूल ।  तस्विर :कौसी खेती ग्रुप

काठमाडौं : ललितपुरकी सविना महर्जनले चैतबाट कौसीमा तरकारी खेती थालिन्। महानगरकी शाखा अधिकृतसमेत रहेकी उनले कौसी खेतीबारे अन्य साथीहरुलाई पनि जानकारी दिन्थिन्। तर, आफैले भने भ्याएकी थिइनन्। 

‘पहिले फुर्सद नै थिएन, लकडाउनका बेला यो काम सुरु गरेँ, कौसीमा करेला, सिमी, बोडी, साग,गोलभेँडा, धनियाँ रोपेकी छु, यसले घरको शोभा पनि बढाएको छ’ सविना भन्छिन्। पछिल्लो समय उनी कौसी खेतीमा प्रतिस्प्रर्धा बढेको बताँउछिन। ‘को भन्दा को कम भनेर तरकारी फलाउने काममा परिवार र छिमेकी पनि उत्साहित अनुभव उनीसँग छ। 

कौसी खेतीमा घरकै फोहोरलाई जैविक मल बनाएर उपयोग गर्ने गरिन्छ। यसले गर्र्दा फोहोरको मात्रा घट्ने र खर्च पनि जोगिने सविनाको अनुभव छ। हिजोआज शहरका धेरैजसो घरका छतमा लटरम्म तरकारी फलेको देख्न सकिन्छ। कोरोना कहरले अधिकांश मानिसहरु फुर्सदमा छन्। यो फुर्सदले तरकारीबारीको परिभाषालाई भने फरक बनाइदिएको छ।

शहर क्षेत्रमा खेतीयोग्य जमिन थोरै मात्र बाँकी छ। अधिकांश खेती हुने जमिनमा कंक्रिटका घर ठडिएका छन्। जसको कारण पछिल्लो समय शहरी क्षेत्रमा तरकारी बाहिरबाटै ल्याइन्छ। यसले परर्निभरतालाई समेत प्रश्रय दिइरहेको छ। तर, पछिल्लो समय खोतीयोग्य जमिनको विकल्प घरका छत र कौसी बन्न थालेका छन्। तरकारीबाटै कोरोना सर्ने कुरामा सत्यता नभएपनि महामारीमा भिडभाडमा जाँदा सङ्क्रमणको जोखिम हुन्छ। ज्सका कारण राजधानीका घरधनीले घरमै तरकारी उत्पादन गर्न थालेको देखिन्छ। 

कुलेश्वरका विज्ञ बज्राचार्यको कौसीमा पनि आजकाल सिमी, तितेकरेला, रामतोरीया, फर्सी, धनियाँ, साग र खुर्सानी फल्न थालेका छन्। ‘फलाएर खान पनि थालिसक्यौँ, लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा सुरु गरेका हौँ’, उनी भन्छन्। आफ्नै कौसीमा तरकारी फल्न थालेपछि बज्राचार्य दंग छन्। ‘बाहिरबाट तरकारी ल्याँउदा बढी विषादी हुन्छ, कोरोना फैलन्छ भन्ने डर हुन्थ्यो। अहिले ढुक्कले आफैले

फलाएको तरकारी खाइन्छ, स्वास्थ्यको पनि चिन्ता लिनु परेन’, उनी भन्छन्। बज्राचार्यको ४ जनाको परिवारलाई कौसीबाटै उत्पादन भएको तरकारीले पुग्ने बताउँछन्। लकडाउन र निषेधाज्ञालाई उपयोग गर्दै भान्साको आवश्यक्ता पुरा गर्न र कृषि तथा वातावरण राम्रो बनाउँन कौसी खेती सही माध्यम बन्दै गएको छ। घरकै फोहोरलाई जैविक मलको रुपमा उपयोग गर्दा शहर बजारको फोहोर व्यवस्थापनलाई समेत सघाउ पुर्याउने देखिन्छ।

भक्तपुरकी सञ्जिता धौभडेलले कौसी खेती सुरु गरेको वषौँ भयो। उनको कौसीमा नास्पाती, स्याउ, कागती जस्ता फलफूल र साग घिरौला, बोडी जस्ता तरकारी फलिरहेका छन्। उनी आफुले उत्पादन गरेको तरकारी छिमेकीलाई बाँड्नसमेत पुग्ने गरेको बताउँछिन्।
‘तरकारी किन्न पर्दैन छिमेकीलाई दिन समेत पुगेको छ, लकडाउनले झन यसमै व्यस्त बनायो’, उनी भन्छिन्।

सामान्य लगानिमा तरकारी र फलफूल उत्पालन गर्न सकिने कौसि खेती पछिल्लो समय धेरैको आकर्षण र शोख बन्दै गएको छ। यससँगै शहरमा घर हुनेले दैनिक तरकारी किन्नुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ। हेर्दा सामान्य लागेपनि यसले विदेशबाट गरिने अबौंको तरकारी आयातलाई कम गराएर परर्निभरतालाई घटाउन पनि सहयोग गर्छ। पछिल्लो समय यसलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमसमेत आउन थालेका छन्।

सरकारको प्रोत्साहन

पछिल्लो समय स्थानीय सरकारले कौसी खेतीलाई प्रोत्साहन गर्न थालेको छ। उपत्यकाका महानगरपालिका र नगरपालिकाले कौसी खेतीको महत्वलाई आत्मासाथ गर्दै प्रोत्साहन गर्न आआफ्नै निति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

ललितपुर महानगरपालिकाले वडा कार्यालयमार्फत् निःशुल्क बीउ तथा गड्यौला मल वितरण गरिरहेका छ। त्यस्तै कीर्तिपुर नगरपालिकाले पनि ५० प्रतिशत सहुलियत दरमा बीउ र मल बेच्ने थालेको छ। 

काठमाडौं महानगरपालिकाले पनि घरको क्षमता अनुसार कौसी खेती गर्न प्रोत्साहन गर्दै आइरहेको छ। महानगरले कम्पोष्टिङ र कौसी खेतीका लागि स्मार्ट बकेट (कम्पोष्टङका लागि) र स्मार्ट ग्रो व्याग (कौसिमा विरुवा रोप्नका लागि) प्राविधिको बारेमा समेत जानकारी गराउँदै आएको हो।

पछिल्लो समय कौसी खेतीलाई लक्षित गरेर अनलाइन मार्फत् तालिमको व्यवस्थासमेत हुँदै आएको छ। गैरसरकारी संस्था गुथिले वेबिनार मार्फत् कौसी खेतीलाई लक्षितगरी तालिम दिँदै आइरहेको छ। 

विज्ञहरु भान्छाको फोहोरबाट मल बनाएर कौसी खेतीमा प्रयोग गर्दा खाद्य चक्र पुरा हुने बताँउछन्। उनीहरु हरियाली बढ्दा जलवायु परिवर्तनलाई रोक्नसमेत मद्दत हुने बताँउछन्।

पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाह कोरोनाले कौसी खेतीको महत्वलाई बढाएको बताँउछन्। यो अवस्थामा हरेक नेपाली खाद्य उत्पादनमा लाग्नुपर्ने उनको भनाई छ। 

‘नेपालमा अब न त रेमिटेन्स आउँछ न त हामी बाहिरबाट खाद्यान्न खरिद गर्न सक्छौँ, हरेक नागरिकले कौसी खेती गरे यसको वहुआयामिक प्रभाव हुन्छ जसले हाम्रो कार्बन फुटप्रिन्ट कम गराउँछ र घर घरको फोहोर व्यवस्थापन हुन्छ’, शाह भन्छन। अबका दिनमा शहरी क्षेत्रका कौसी खेतीलाई प्रोत्साहन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने पूर्वमन्त्री शाहको सुझाव छ। 

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्य कौसी खेतीबाट तरकारी आपूर्तिको कमीलाई सहज गर्न सकिने बताउँछन्। भान्साको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्नु आवश्यक रहेको उनको भनाई छ। 
‘शहरी कौशी खेतीले हरियालीलाई बढाउन पनि मद्दत गर्छ र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ’, उनी भन्छन्। अमात्यका अनुसार कौसी खेतीलाई लक्षित गरी सरकारी तवरबाट आएका नीति र कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्छ।

४ असोज, २०७७, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।