एकमनले त उसले भर्खरै जाँउ कि फलाम किन्न भनेर सोंच्यो तर उत्तिखेरै फेरी जब भोली गएर फलाम ल्याईहाल्छु भने अहिले एकछिन आराम किन नगर्ने भन्ने सोंचेर उ आज बजार नजाने निधो गर्यो ।
उकेरा जुनियर
गुरुचेला
नीतिकथा

निकै पहिेलेको कुरा हो एकजना गुरुका थुप्रै चेलाहरु थिए । ती चेलाहरु मध्ये एकजना चेला निकै अल्छी थिए । ती अल्छी चेलाको भविष्यलाई लिएर गुरु निकै चिन्तित हुने गर्थे । उनलाई लाग्थ्यो यो अल्छीले जिन्दगीमा केही प्रगति गर्न सक्दैन । हुन पनि असल गुरुले आफ्ना चेलाहरु आफुभन्दा पनि विद्वान बनुन् भन्ने चाहन्छन् । गुरुलाई पनि आफ्नो चेलालाई कसरी समयको महत्व बुझाउँ भन्ने लागिरहन्थ्यो । यहि कुरा सोंच्दा सोंच्दै एकदिन गुरुले चेलालाई एउटा अनौठो ढुंगा दिँदै भने,
"बाबु यो ढुंगामा एउटा विशेष शक्ति छ । यसले कुनै फलामलाई छोयो भने त्यो फलाम सुनमा परिणत हुन्छ । मैले आज यो विशेष ढुंगा तिमीलाई दिएर जान्छु, म भोली साँझ फर्किदा तिमीले यो मलाई फिर्ता गरिहाल्नुपर्छ ।"
चेलालाई पनि निकै खुशी लाग्यो गुरुले आफुलाई त्यस्तो विशेष जादुमयी ढुंगा दिएकोमा उ गुरुप्रति निकै आभारी भयो । गुरुले त्यो ढुंगा चेलाको हातमा राखिदिँदै फेरी सम्झाए,
"भोली तिम्रो र मेरो भेट हुने बित्तिकै यो ढुंगा बिनाकुनै आनाकानी तिमीले फिर्ता गर्नु पर्नेछ नि ।" यति भनेर गुरु त्यहाँबाट हिँडे ।
चेला यति खुशी थियो कि उसले अब कसरी फलाम जम्मा गरेर त्यसलाई सुनमा परिणत गर्नेहोला भनेर कल्पना गर्न शुरु गर्यो । निकै मिठा मिठा कल्पनाहरु आए उसको दिमागमा । बजार जानुपर्ला , त्यहाँबाट फलाम पसलमा गएर थुप्रै फलाम किन्नुपर्ला अनि त्यो ल्याएर यो ढुंगा छुवाउँदै फलामलाई सुन बनाउनु पर्ला । अनि त्यो सुन कहाँ लगेर बेच्ने भनेर पनि उसले कल्पना गर्न थाल्यो । त्यसपछी उसँग जम्मा हुने पैसाहरु सम्झिँदा त उसलाई नाँचु नाँचु लाग्न थाल्यो ।
एकमनले त उसले भर्खरै जाँउ कि फलाम किन्न भनेर सोंच्यो तर उत्तिखेरै फेरी जब भोली गएर फलाम ल्याईहाल्छु भने अहिले एकछिन आराम किन नगर्ने भन्ने सोंचेर उ आज बजार नजाने निधो गर्यो ।
भोलीपल्ट बिहान उठेपछि उसले अब बजार जानुपर्यो भनेर मन गर्दागर्दै उसको दिमागमा अर्को कुरा आयो , म भोकै गएँ भने त धेरै फलाम बोक्न सक्दिन, त्यसैले मज्जाले खाना खाएर जान्छु । यहि सोंचेर उ मिठो मिठो खाना पकाउनतिर लाग्यो । खाना पाक्यो, उसले खायो । खाना खाएपछि उसलाई अल्छी लाग्दै आयो । अनि उसले फेरी सोंच्यो , एक छिन आराम गरेर गएँ भने त शरीरमा स्फुर्ती आउँछ अनि धेरै फलाम बोक्न सक्छु ।
यो सोच बनाएपछि उ ओछ्यानमा पल्टियो । एकैछिनमा उसलाई गहिरो निद्रा पर्यो । आँखा खुल्दा घाम डुब्ने तरखरमा थियो । अब त गुरु आउने बेला पनि भईसक्यो भनेर हतारिंदै बजार जान भनेर के आँटेको थियो, गुरु त ठ्याक्कै ढोकामै आईपुगे ।
शर्त अनुसार अब त्यो जादुमयी ढुंगा गुरुलाई फिर्ता गर्ने पर्नेभयो । तैपनि उसले गुरुको पाउमा पर्दै अझै एकैछिनको लागि त्यो ढुंगा दिन अनुरोध गर्यो तर समय बितिसकेको थियो र त्यो अमूल्य समयलाई चेलाले गुमाईसकेको थियो । गुरुले, "अब यो संभव छैन " भन्दै त्यो ढुंगा फिर्ता लिएर त्यहाँबाट गए ।
चेलाले जिन्दगीको एउटा अनमोल शिक्षा पाईसकेको थियो ।
२०७७ भदौ ३० गते १८:५७ मा प्रकाशित