सुनको अण्डा दिने कुखुरी

सुनको अण्डा दिने कुखुरी

एकादेशमा एउटा खोलाको किनारमा एउटा सानो घर थियो त्यो घरमा एकजना मान्छे बस्थे । उनी दिनदिनै सहरमा काम गर्न जान्थे , अनि साँझ घर फर्कन्थे । उनी घरमा एक्लै बस्थे । उनीसँग पैसा पनि थिएन । त्यसैले कहिलेकाँही खाना नभएर भोकै पनि सुत्नेगर्र्थे । एकदिन उनी शहरदेखि फर्किदै थिए बाटोमा एउटा सेतो कुखुरा देखे । उनी कुखुराको नजिकै गए, तर त्यो कुखुरा डराएन । उनले कुखुरालाई समाते र खुशी हुँदै घरतिर लागे । उनले आज त्यही कुखुरालाई काटेर खानुपर्यो भन्ने सोचेर चक्कु लिन भित्र गए तर फेरी सोचे, यसलाई मैले आज खानुभन्दा बरु भोली बजारमा लगेर बेच्छु अनि त्यो पैसाले अरु नै धेरै खानेकुरा किन्न सक्छु । अनि मलाई धेरै दिनसम्म खान पुग्छ । यहि सोचेर उनी कुखुरालाई डोकोभित्र छोपेर त्यो रात भोकै सुते ।भोलीपल्ट उनी उठेर त्यो कुखुरालाई हेर्न गए । कुखुराले अण्डा पारेको थियो । त्यो अण्डा देखेर उनी निकै अचम्म माने, अनि खुशि पनि भए । किनकी त्यो अण्डा सुनको थियो ।

उनले अब कुखुरा बेच्ने बिचार त्यागीदिए । बरु कुखुरालाई घरभित्रै राखेर सुनको अण्डा लिएर सहरतिर लागे । घर फर्किदा उनले थुप्रै खानाहरु बोकेर आए । उनले कुखुराको लागि पनि दाना ल्याएका थिए । दुबैले पेटभरी खाना खाएर मजाले निदाए ।
भोलीपल्ट फेरी कुखुराले सुनको अण्डा पार्यो ।

पर्सि, निकोपर्सी एवम् रीतले कुखुराले सुनका अण्डा दिई नै रह्यो । ती मान्छे अब धनि हुँदै गए । नयाँ घर बनाए । बिहे गरे ।
एकदिन उनले यो गोप्यकुरा आफ्नी श्रीमतीलाई भने । श्रीमतीलाई यो कुरा सुनेर लोभ लाग्यो । उनले सोचिन् यो कुखुरालाई काटेर पेटमा हेर्ने हो भने त त्यहाँ थुप्रै सुनका अण्डा होलान् । अनि त्यो सबै एकैचोटी पाईयो भने त हामी निकै धनी हुनेछौं ।

एकदिन श्रीमान शहरमा गएको बेलामा उनले त्यो कुखुरालाई मारिन्  । तर पेटमा हेर्दा, त्यहाँ केही थिएन । साँझ श्रीमान फर्किए र यो सबै देखेर निकै दुःखी भए । लोभले गर्दा आफुलाई सुनको अण्डा दिईरहेको त्यो कुखुरालाई मारेकोमा श्रीमतीलाई पनि निकै पछुतो भयो ।

शिक्षा : हामीले लोभ गर्यौं भने त्यसबाट हानी मात्र हुने गर्छ

 

२१ भदौ, २०७७, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।