उकेरा फिचर

सोह्रश्राद्ध : पितृगणप्रति श्रद्धा

हरि पाण्डेय ‘पथिक’


सांकेतिक तस्बिर

दिवङ्गत पितृहरूलाई उद्देश्य गरेर श्रद्धापूर्वक अन्न जल आदि उपभोग्य वस्तु दिनु श्राद्ध हो। श्राद्ध पितृहरूको सम्मान गर्ने वैदिक विधि हो। यसलाई पितृयज्ञ पनि भनिन्छ। श्राद्धका विषयमा धर्मशास्त्र, पुराण, वीरमित्रोदय, श्राद्धकल्पलता, श्राद्धतत्त्व, पितृदयिता आदि ग्रन्थहरूमा विस्तृत वर्णन पाइन्छ।

दिवङ्गत पितृहरूलाई उद्देश्य गरेर श्रद्धापूर्वक अन्न जल आदि उपभोग्य वस्तु दिनु श्राद्ध हो। श्राद्ध पितृहरूको सम्मान गर्ने वैदिक विधि हो। यसलाई पितृयज्ञ पनि भनिन्छ। श्राद्धका विषयमा धर्मशास्त्र, पुराण, वीरमित्रोदय, श्राद्धकल्पलता, श्राद्धतत्त्व, पितृदयिता आदि ग्रन्थहरूमा विस्तृत वर्णन पाइन्छ।

श्राद्ध गर्दा सृष्टिकर्ता ब्रह्मादेखि सृष्टिको क्षुद्ररूप घाँससम्म सबै तृप्त हुने भएकाले श्राद्धलाई देवकार्यभन्दा बढी महत्त्वको मानिएको छ। श्राद्धकर्ताले विधिवत्रूपमा दिएका वस्तु पितृहरूले प्राप्त गर्दछन् र श्राद्धकर्ताको कल्याण गर्दछन्।

त्यसैले श्राद्ध गर्नु हरेक गृहस्थको अनिवार्य कर्तव्य हो। श्राद्ध नगर्दा मानिसलाई दोष लाग्छ भने श्राद्ध गर्दा यही जीवनमा शुभ फल प्राप्त हुन्छ भन्ने धर्मशास्त्र र पुराणहरूको मान्यता छ।

श्राद्धका प्रकार

शास्त्रहरूमा श्राद्धका अनेक प्रकार बताइएका छन्। तीमध्ये नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी पाँच किसिमका श्राद्ध धेरैले मानेका र व्यवहारमा समेत प्रचलनमा रहेका श्राद्ध हुन्।

स्नान सन्ध्याजस्तै प्रत्येक दिन गरिने श्राद्ध नित्यश्राद्ध हो भने प्रत्येक वर्ष दिवङ्त भएको तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध नैमित्तिक श्राद्ध हो। पितृहरूका आशीर्वादले कुनै कामना पूरा होओस् भनेर गरिने श्राद्ध काम्य श्राद्ध हो। व्रतबन्ध, विवाह आदि माङ्गलिक कार्यको आरम्भमा गरिने नान्दी श्राद्धलाई वृद्धिश्राद्ध भनिन्छ। प्रत्येक पर्व र पितृपक्षमा गरिने श्राद्ध पार्वण श्राद्ध हो।

एकोद्दिष्टश्राद्ध, पार्वणश्राद्ध र नान्दीश्राद्ध आज पनि आम रूपमा नेपाली समाजमा प्रयोग र प्रचलनमा छन् भने अरू श्राद्ध शास्त्रीय जीवनशैली भएका केही व्यक्तिले मात्र गर्ने गरेका छन्। यी लगायत वर्षभरिमा छयानब्बे श्राद्ध गर्नुपर्ने कुरा शास्त्रमा बताइएको छ तर ती व्यवहारमा देखिँदैनन्।

पार्वणश्राद्ध के हो?

पर्वमा हुनेलाई पार्वण भनिन्छ। विष्णुपुराणमा पाँचवटा पर्व दिन भनिएका छन्। ती हुन्—चतुर्दशी, अष्टमी, औँसी, पूर्णिमा र प्रत्येक महिनाको संक्रान्ति। यी पाँचैवटा पर्वमा प्रत्येक दिन श्राद्ध गर्नुपर्ने विधान छ। यिनै पर्वमा गरिने श्राद्ध पार्वण श्राद्ध हो। यसबाहेक आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्मका पन्ध्र तिथिमा गरिने श्राद्ध पनि पार्वण श्राद्ध नै हो।

मानिसको एक महिना पितृहरूको एक अहोरात्र मानिन्छ। प्रत्येक महिनामा शुक्लपक्ष र कृष्णपक्ष गरी दुई पक्ष हुन्छन्। शुक्लपक्षलाई पूर्वपक्ष र कृष्णपक्षलाई अपरपक्ष पनि भनिन्छ। शुक्लपक्ष पितृहरूको रात हो भने कृष्णपक्ष दिन हो।

आश्विन कृष्णपक्षलाई पितृपक्ष भनिन्छ। यसको अर्को नाम महालय पनि हो। यस पक्षमा पितृहरू वायुप्रधान सूक्ष्मशरीर धारण गरेर पृथ्वीलोकका नजिकै आएका हुन्छन्; त्यसैले पितृपक्षमा गरिने श्राद्धले पितृहरूले प्रतिदिन भोजन पाउँछन् र तृप्त हुन्छन् भनेर यस पक्षको विशेष महिमा बताइएको छ।

पितृपक्षका पन्ध्रै दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ तर सबै श्राद्ध गर्न नसके पनि कम्तीमा आश्विन कृष्णपक्षका पन्ध्र तिथिमध्ये आफ्ना पितृ दिवङ्गत भएको तिथिमा श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रको न्यूनतम विधान हो। हामीले पार्वणश्राद्ध भनेर गर्ने यही आश्विन कृष्णपक्षको श्राद्ध हो। महालय नामको अपरपक्षमा पर्ने हुनाले यस श्राद्धलाई महालयश्राद्ध र महालयापरपक्षश्राद्ध पनि भनिन्छ।

पितृहरू कसरी तृप्त हुन्छन्?

मृत्युपछि जीव कर्मअनुसार फरक फरक गतिमा फरक फरक लोकमा पुगेका हुन्छन्। उनीहरूका शरीर भिन्न किसिमका हुन्छन् र आवश्यकता पनि भिन्न खालका हुन्छन्। त्यस्तो अवस्थामा श्राद्धकर्ताले श्रद्धापूर्वक दिएका वस्तु र पिण्ड दिवङ्गत पितृहरूले पाउँछन् कि पाउँदैनन् ? पाउँछन् भने कसरी पाउँछन् भन्ने प्रश्नका उत्तर शास्त्रहरूले स्पष्टरूपमा दिएका छन्।

पितृहरूलाई उद्देश्य गरेर दिइने अन्न आदि वस्तुलाई कव्य भनिन्छ। श्राद्धकर्ताले विधिपूर्वक दिएको कव्य सम्बन्धित पितृहरूसम्म पु¥याउने जिम्मा विश्वेदेव (देवब्राह्मण) र अग्निष्वात्ता(देवताका पितृ)ले पाएका छन्। श्राद्धकर्ताले नाम गोत्र उच्चारण गरेर मन्त्र र सङ्कल्पपूर्वक दिएको कव्यलाई तिनै विश्वेदेव र अग्निष्वात्ताले सम्बन्धित पितृ कुन योनिमा पुगेका छन् र उनीहरूको आवश्यकता कस्तो छ त्यस्तै बनाएर उनीहरूसमक्ष पुर्‍याइदिन्छन्।

जसरी मनि एक्स्प्रेसमा रकम जम्मा गर्दा लक्षित व्यक्ति जुन देशमा छ र उसलाई जस्तो मुद्रा आवश्यक पर्छ त्यही रूपमा पाउँछ त्यस्तै श्राद्धकर्ताले दिएको कव्य पनि दिवङ्गत पितृले आवश्यक रूपमा प्राप्त गर्दछन्। त्यसैले देवकार्यमा भन्दा पितृकार्यमा नाम गोत्रलगायतका वाक्य शुद्धरूपमा उच्चारण गर्नुपर्छ भन्ने कुराको पुष्टि गर्दै ‘पितरो वाक्यमिच्छन्ति श्रद्धामिच्छन्ति देवता’ भनिएको छ।

श्राद्धकर्ताले दिएको कव्य पितृहरूले कसरी पाउँछन् भन्ने कुरा मार्कण्डेयपुराण र वायुपुराणमा यसरी उल्लेख गरिएको छ —

नाममन्त्रास्तथा देशा भवान्तरगतानपि।

प्राणिनः प्रीणयन्त्येते तदाहारत्वमागतान्।।

अर्थात् नाम गोत्रका माध्यमले विश्वेदेव ब्राह्मण एवं अग्निष्वात्ता आदि दिव्यपितृहरूले श्राद्धकर्ताले दिएको कव्य वस्तु पितृहरूलाई पुर्‍याइदिन्छन्। पितृ देवयोनिमा पुगेका छन् भने श्राद्धमा दिइएको कव्य उनीहरूसमक्ष अमृतका रूपमा पुग्छ।

मनुष्ययोनिमा पुगेका भए अन्नका रूपमा, पशुयोनिमा भए घाँसका रूपमा, सर्प आदि योनिमा भए वायुका रूपमा, यक्षयोनिमा भए पेय पदार्थका रूपमा र अन्य योनिमा भए उनीहरूको भोग्य पदार्थ जे हो त्यही रूपमा पुग्दछ र उनीहरू तृप्त हुन्छन्। नाम, गोत्र, श्रद्धा, सङ्कल्प र मन्त्र पितृहरूसमक्ष कव्य पुर्‍याउने साधन हुन्।

श्राद्धमा के-के गरिन्छ ?

श्राद्ध गर्नका लागि एकोद्दिष्ट, पार्वण, एकपार्वण, नान्दी आदि श्राद्धका आआफ्नै पद्धति छन्। तिनै पद्धतिअनुसार श्राद्धकर्ता पुत्र आदिले दिवङ्गत पितृलाई उद्देश्य गरेर अन्न जल आदि पकाएर तयार गरेका र तयार नगरेका उपभोग्य वस्तु दिन्छन्। श्राद्धमा मुख्यतया मन्त्रउच्चारण र नाम गोत्रसहितको सङ्कल्पपूर्वक तिलमिश्रित जलले तर्पण गर्नुका साथै पितृलाई आवाहन र स्थापना गरी पाद्य, अघ्र्य, चन्दन, अक्षता, फूल, धूप, दीप, वस्त्र आदिले पूजा गरिन्छ अनि श्राद्धकर्ताकी पत्नीले तयार गरेको दूध, दही, घिउ, मह र तिल मिश्रित शुद्ध भोज्यपदार्थबाट तयार गरेको पिण्डदान गरिन्छ।

अन्त्यमा दक्षिणा दान गरी विसर्जन गरिन्छ। एकोद्दिष्टश्राद्धमा दिवङ्कत एउटै पितृलाई उद्देश्य गरेर यी सबै काम गरिन्छ भने पार्वणश्राद्धमा दुई विश्वेदेव ब्राह्मण र पत्नीहरूसहित पिता, पितामह र प्रपितामह गरी तीन पुस्ता र मावलतिरका पत्नीसहित मातामह, प्रमातामह र वृद्धप्रमातामह गरी तीन पुस्ताका पितृहरूलाई आवाहन, पूजन, पिण्डदान आदि कार्य गरिन्छ। 

श्राद्धको अर्को मुख्य पक्ष ब्राह्मण भोजन हो। जति पितृहरूको श्राद्ध गर्ने हो त्यति जना ब्राह्मणलाई निमन्त्रणा गरी सम्मानपूर्वक दान दिने र भोजन गराउने शास्त्रको विधान छ। मृत्युपश्चात् देवलोक, पितृलोक वा अन्य लोकमा पुगेका पितृहरू श्राद्धकर्ताले स्मरण गरेर मन्त्रद्वारा बोलाएपछि तत्काल वायुशरीर धारण गरेर मनको जस्तै वेगले श्राद्धदेशमा आउँछन् र ब्राह्मणका माध्यमबाट भोजन ग्रहण गर्दछन्। पितृहरू वायुशरीरमा आउने भएकाले हामी आफ्ना आँखाले देख्दैनौँ।

्भोजनको गन्ध ग्रहण गरेपछि पितृहरू तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। त्यसैले ब्राह्मण भोजनलाई श्राद्धको अभिन्न अङ्ग मानिएको छ। कतिसम्म भने ब्राह्मणलाई निमन्त्रणा, सम्मान, भोजन र दान–दक्षिणा गर्नु नै श्राद्धको उत्तम विधि हो भन्ने सम्मको मत शास्त्रमा पाइन्छ। श्राद्धभोजनका लागि छोरीको छोरो (दौहित्र) र ज्वाइँलाई विशेष महत्त्व दिइएको छ। यीबाहेक आचारनिष्ठ र ज्ञानी ब्राह्मण श्राद्धभोजनका लागि योग्य हुन्छन्।

श्राद्ध कसले गर्ने ?

मातापिता दिवङ्कत भएपछि उनीहरूको अन्त्येष्टिदेखि द्वादशाहसम्मका सम्पूर्ण काम र सबै किसिमका श्राद्ध गर्नु छोराको कर्तव्य हो। छोराहरूमध्ये पनि जेठा छोरालाई सबै पितृकर्मको जिम्मा शास्त्रहरूले दिएका छन्।

पितृकर्म गर्नु सबै छोराहरूको कर्तव्य हो तर अन्त्येष्टिदेखि द्वादशाहसम्मका कर्म गर्दा सबै भाइहरू सँगै भएर जेठा दाजुको नेतृत्वमा गर्नुपर्ने र पछि श्राद्ध गर्दा भाइहरू सगोलमा भएसम्म जेठा छोराकै नेतृत्वमा गर्नुपर्ने र अंशबण्डा गरेर छुट्टाछुट्टै गृहस्थी चलाउन थालेपछि सबैले आआफ्नै घरमा श्राद्ध गर्नुपर्ने कुरा वीरमित्रोदयमा उल्लेख छ। यही परम्परा हाम्रो समाजमा पनि प्रचलित छ।

 छोरा नभएमा मृत्युपछिका कर्म कसले गरिदिने भन्ने विषयमा पनि शास्त्रमा स्पष्ट व्यवस्था छ। श्राद्धकल्पलताअनुसार पुत्र, पौत्र, प्रपौत्र, दौहित्र (छोरीको छोरो), पत्नी, भाइ, भतिज, पिता, माता, पुत्रवधू, दिदीबहिनी, भान्जा, सपिण्ड (आफूसमेत सात पुस्ताभित्रका), सोदक (आठौँ पुस्तादेखि चौधौँ पुस्ताभित्रका) र सगोत्र (पन्ध्रौँ पुस्तादेखि एक्काईसौँ पुस्तासम्मका) व्यक्ति क्रमशः श्राद्धका अधिकारी हुन्छन्। पुत्र, पौत्र र प्रपौत्रसम्मको क्रम अन्यत्र पनि यही देखिन्छ भने त्यसपछिको क्रमका बारेमा शास्त्रकारहरूका आआफ्ना मत देखिन्छन्।

श्राद्ध गर्न नसके के गर्ने ?

श्राद्ध गर्नु पुत्र आदिको अनिवार्य कर्तव्य हो तर धनको अभावले गर्दा श्राद्ध गर्न नसक्ने अवस्था भयो भने के गर्ने भन्ने प्रश्नको उत्तर पनि शास्त्रले दिएका छन्। धनको अभावले श्राद्ध गर्न नसक्ने अवस्था नै हो भने श्राद्ध सम्पन्न गर्ने चार विकल्प छन्। ती हुन्—

१) अन्न वस्त्र आदि किन्न असमर्थ भएमा घरमा भएको साग फलपूmल आदिले श्राद्ध गर्ने।

२) घरमा सागपातसमेत छैन भने काठदाउरा बेचेर भए पनि पैसा जम्मा गर्ने र साग, फलफूल आदि किनेर श्राद्ध गर्ने।

३) दोस्रो विकल्प पनि नभएमा घाँस काटेर पितृलाई उद्देश्य गरी गाईलाई खुवाउने यसबाट पनि पितृहरू तृप्त हुन्छन्।

४) तेस्रो विकल्प पनि सम्भव छैन भने श्राद्धकर्ता एकान्त स्थानमा गएर दुवै हात माथि उठाएर ‘हे पितृगण हो ! मसँग धन पनि छैन र अरू विकल्प पनि छैन, पितृहरूप्रति श्रद्धा र भक्ति छ यही श्रद्धा र भक्तिले तृप्त हुनुहोस्’ भनेर पितृहरूका शरण पर्ने यसो गरेपछि पितृहरू सन्तुष्ट हुन्छन्।

यी विकल्प धनको अभावले श्राद्ध गर्न नसक्नेका लागि मात्र हुन्, धन हुनेले वित्तशाठ्य (कन्जुस्याइँ) गर्न भने हुँदैन।

श्राद्ध गर्दा लाभ र नगर्दा के?

पितृपरम्पराबाट नै हामीले आफ्नो शरीर, रूप, गुण, स्वभाव, धन, प्रतिभा आदि पाएका हुन्छौँ। त्यसैले हाम्रो जीवन नै पितृहरूको ऋणी छ। देवऋण, पितृऋण र ऋषिऋणमध्ये पितृऋण तिर्ने एउटा उपाय पितृकर्म पनि हो।

श्राद्ध गर्दा एकातिर दिवङ्गत पितृहरू तृप्त हुन्छन् र पितृऋण तिरिन्छ भने अर्कातिर श्राद्धकर्ताको पनि कल्याण हुन्छ। मार्कण्डेय पुराणअनुसार श्राद्धबाट तृप्त भएका पितृहरूले श्राद्धकर्तालाई आयु, सन्तान, धन, विद्या, स्वर्ग, मोक्ष र सुख दिन्छन्। कतिसम्म भने श्राद्ध गर्ने बाहेक श्राद्धको विधि जान्ने, श्राद्ध गर्नुपर्छ भनेर सल्लाह दिने र श्राद्धको अनुमोदन गर्ने व्यक्तिले समेत श्राद्धको पुण्यफल प्राप्त गर्दछन् भन्ने कुरा वृहस्पति स्मृतिमा उल्लेख गरिएको छ।

श्राद्ध नगर्दा हुने हानिबारे पनि शास्त्रमा चर्चा गरिएको छ। ब्रह्मपुराणअनुसार श्राद्धको अधिकारी भएर पनि जसले श्राद्ध गर्दैन त्यसका पितृहरूले बाध्य भएर त्यस(श्राद्ध नगर्ने व्यक्ति)को रगत पिउँछन्। पितृहरू रुष्ट भएपछि श्राप दिन्छन् र उनीहरूका श्रापले गर्दा कुलमा अपाङ्ग सन्तानहरू जन्मने, रोगी हुने, अल्पायु हुने, डरपोक हुने, उन्नति–प्रगतिमा बाधा हुने, पितृदोष लाग्ने जस्ता अमङ्गल आइलाग्ने कुरा पनि धर्मशास्त्र र स्मृतिग्रन्थहरूमा उल्लेख भएको छ।

श्राद्धमा ग्राह्य र त्याज्य वस्तु

श्राद्ध पितृयज्ञ भएकाले अन्य कर्मभन्दा विशेष छ। यसमा केही खासखास वस्तुलाई विशेष महत्त्वका साथ समावेश गर्नु उपयुक्त हुने शास्त्रीय मान्यता छ।

श्राद्धका लागि मध्याह्नको समय (कुतप) महत्त्वपूर्ण मानिन्छ। एकोद्दिष्टश्राद्ध मध्याह्नमा र पार्वणश्राद्ध अपराह्नमा गर्नू भन्ने विधान शास्त्रमा पाइन्छ। त्यस्तै हरेक श्राद्धमा गैँडाको खागबाट बनेको अर्घपात्र, नेपाली कम्बल, चाँदी, कुश, गाई, छोरीको छोरो बढी फलदायी हुन्छन् भन्ने उल्लेख छ।

दूध, गङ्गाजल, मह, तुलसी (पिण्डमा मात्र), सेता सुगन्धित पूmल, रेशमी कपडा जस्ता वस्तुहरू श्राद्धमा समावेश गर्नुपर्ने चिज हुन्। श्राद्धस्थल आफ्नो घर, गाईगोठ, देवालयको प्राङ्गण, नदीकिनार वा गोबरले लिपिएको स्थान हुनु राम्रो मानिएको छ। श्राद्धका लागि शीलस्वभाव, पवित्रता, ज्ञान र सदाचारले युक्त ब्राह्मण योग्य हुन्छन्। श्राद्धकर्तामा पवित्रता, अक्रोध (रिस नहुनु), धैर्यजस्ता गुण हुनु आवश्यक छ।

श्राद्धमा केही निषिद्ध कुराहरू पनि छन्। यस्ता चिज श्राद्धमा प्रयोग गर्नुहुँदैन। श्राद्धकर्ताले दन्तधावन गर्नु, पान, सुपारी, सूर्ती आदि खानु, तेल घस्नु, सम्भोग गर्नु, अरूले दिएको अन्न खानुजस्ता कुरा वर्जित छन्। श्राद्धभोजन गर्ने ब्राह्मणले पुनर्भोजन गर्नु, यात्रा गर्नु, भारी बोक्नु, सम्भोग गर्नु, देवकार्यमा संलग्न हुनुजस्ता कुरा पनि वर्जित छन्।

कस्तुरी, रक्तचन्दन, गोरोचन, सल्लकजस्ता चन्दन र कदम, केमरा, मौलसिरी, बेलपत्र, करवीर तथा राता र काला रङ्गका अनि बास्नाहीन र गह्नाउने फूल श्राद्धमा वर्जित छन्। सडेगलेको, दुर्गन्धित र बासी अन्न, राजमा, मसुरो, रहर, गाजर, कुभिन्डो, डल्ले लौका, भान्टा, शलगम, हिङ, प्याज, लसुन, बिरेनुन, कालोजीरा, सिँगडा, पिप्लाजस्ता अन्न श्राद्धमा वर्जित छन् भने चोर, पतित, नास्तिक, व्यापारी, जागिरे, गुरुद्वेषी, शूद्रासँग विवाह गर्ने, अन्धो, नपुँसकजस्ता गुणहीन ब्राह्मण श्राद्धका लागि त्याज्य छन्।

श्राद्ध पितृहरूको तृप्ति र आफ्नो कल्याणका लागि गरिने कार्य हो। विधिवत् गरिने पितृकर्मबाट पितृहरू त तृप्त हुन्छन् नै देवता, असुर, गन्धर्व, यक्ष, राक्षस, नाग आदि अन्य योनी पनि तृप्त हुन्छन् भन्ने शास्त्रको मान्यता छ।

यसरी आफ्नो सम्पत्ति र कर्मले ब्रह्मादेखि घाँसपातसम्म सबैलाई तृप्त पार्न सकिने हुनाले श्राद्ध देवकर्मभन्दा विशेष मानिएको हो। वर्षभरिमा छयानब्बे श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान भए पनि कम्तीमा वर्षमा दुई पटक (मृत्युतिथि र पितृपक्षमा) पितृहरूलाई सम्झेर उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु हाम्रो कर्तव्य नै हो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

७० वर्षमा डिग्री, अब पिएचडीको सुरसार

छोरीलाई विद्यालय टेक्नै नदिने समाजमा हुर्किएकी नानीमैयालाई सानैदेखि पढाइको भोक थियो। दाइ–भाइ स्कुल गएको देख्दा उनलाई आफूले पढ्न नपाएकोमा चिन्ता लाग्थ्यो। दाइहरुले पढेको देख्दा नानीमैया....

ड्रेस सेन्स फैलाउने धाख्वा

पुस्ताले केवल व्यापारको रूपमा मात्र लिएको कपडामा उनी सृजना खोज्न थाले। कपडामा कला थप्ने मोहमा घोत्लिँदा घोत्लिँदै उनमा फेसन डिजाइनिङ भन्ने पढ्न नि पाइन्छ भन्ने....

भुटानी शरणार्थीका दुख : ‘अमेरिका पुगेका छोराछोरीले सोधखोज नै गरेनन्’

४ छोरा अमेरिका पुगेको ५ वर्ष भयो। उनीसँगै बसेका एक भाइको उच्च रक्तचापका कारण यहीँ माघ १ गते निधन भयो। प्रेमभाव दर्साउने दिल छियाछिया भएका....

तरकारी खेतीमा सुब्बासा’ब

त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। 

कार्नेसन खेतीमा सोख

उनको कार्नेसन खेतीबाट हुने आम्दानी पनि राम्रै छ। उनी भन्छन्, ‘महिनामा त्यस्तै एक लाख जति कमाइ हुन्छ।’  परिवारसँग बसेर राम्रै आम्दानी हुने देखेपछि उनले फूल....