मिथिलामा ‘माटोका महादेव’को पूजा

मिथिलामा ‘माटोका महादेव’को पूजा

जनकपुरधाम : दसैं उत्सवको बेला जनकपुरधाम क्षेत्रमा पार्थिव (माटोका महादेव) को पूजा गर्ने प्रचलन बढेको छ।  
 

घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्दछन्। साउन र असोजमा मिथिलाञ्चलमा पार्थिव महादेवको अत्यधिक पूजा हुने गर्दछ। 

शिव पुराणका अनुसार शिव पूजनले धनधान्य र अरोग्यका साथै पुत्र प्राप्ती हुने विश्वास गरिन्छ। 

जो दम्पति पुत्र प्राप्तीका लागि वर्षौदेखि दुखित छन् त्यसले विशेष रुपले पार्थिव महादेवको पूजा गर्ने परम्परा छ। 

पार्थिव पूजाले अकाल मृत्युको भयसमेत टर्ने धार्मिक जानकार पण्डित विद्यानन्द झा बताउछन्।

यो पूजा छुट्टाछुटै र सामुहिक रुपमा पनि हुने गर्दछ। दूर्गाको पूजासँगै महादेवको पूजा दसैंमा गर्ने मिथिलामा परम्परा रहेको सांस्कृतिविद एवं मैथिलीका साहित्यकार चन्द्रमोहन झा पडवाले बताए। 

यो बेला प्रत्येक घरमा पार्थिव महादेवको पूजा हुने गरेको उनले सुनाए।

कलियुगमा कुष्टमाण्ड ऋषिका पुत्र मण्डपले यो पूजाको प्रारम्भ गरेको किम्बदन्ति छ। त्यहीबेलादेखि यो पूजाको प्रारम्य भएको मान्यता छ। 

मिथिला नरेशका जनकका कुलदेवता महादेव रहेका छन्। त्यसैकारण मिथिलामा सबै भन्दा बढी महादेवकै हरेक रुपको पूजा हुने गरेको छ।

शिव पुराणका अनुसार सबै वर्ण र सबै वर्गका व्यक्ति भगवान शिवको लिंगार्चन, शिवार्चन, रुद्राभिषेक आदि वैदिक अनुष्ठान गर्न सक्छन्। 

शिव पूजन गर्नमा महिलाहरुको पनि त्यतिकै अधिकार रहेको छ। शिवलाई सौभाग्यको देवता भनिन्छ। त्यसैकारणले सुहागिन महिला भगवान शंकरसँग जोडिएको सबै व्रत एवं पूजन गर्छिन्। 

पार्थिव महादेवको पूजा गर्दा होमजपसमेत हुने गरेको छ। तर, दसैंको बेला मिथिलामा विनायज्ञकै पूजा गरेको पनि देखिन्छ।

जपका अतिरिक्त घर घरमा दूर्गापाठ हुने गरेको पुरहित्याई पेसासँग आबद्ध पण्डित दिगम्बर झा दिनमणिले बताए। 
संस्कृत भाषा आउनेहरु मध्ये कतिले आफै पनि पूजा गर्छन् भने केहीले पण्डितलाई जिम्मेवारी दिएर पूजा गराउने गरिएको देखिएको छ।
 

६ कात्तिक, २०७७, १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।