तीस वर्षदेखि ठमेललाई मीठो धुन सुनाइरहेका बिहारका ‘अलिम मुरलिवाला’, भन्छन्- ‘अब मलाई यहीँ सुकुन छ’
काठमाडौं : मुहम्मद अलिम काठमाडौंको ठमेल वरपर डुल्न थालेको तीन दशक भइसक्यो। तर, अहिले जस्तो व्यापारमा सन्नाटा उनले कहिल्यै देखेका थिएनन्।
१५ दिन देखि त उनले एक रुपैयाँको पनि व्यापार गरेका छैनन्। तर, पनि उदास भएका छैनन्। एक पोका बाँसुरी र मुरली बोकेर उनी डुलिरहन्छन्। मुड चले आफ्नै सुरमा बजाउँदै बस्छन्।
उनी भारतको बिहारबाट काठमाडौं आएको जति भयो, त्यतिनै समय भयो ठमेल बसेको पनि भयो। परिवार सबै उतै छन्। उनी भने यहाँ एक्लै रमाइरहेका छन्।
काठमाडौंमा हुने विशेष मेलामा बाँसुरी बेच्न आएका उनलाई यहाँको हावाले तान्यो। वर्ष दिनमा एक पटक नेपाल आउने उनी बिस्तारै काठमाडौंको सबै जात्रामा आउन थाले। हुँदा-हुँदा उपत्यकाको हरेक जात्रामा उनलाई भेटिन थाले।
अनि पछि भने साथीहरू सँग आएर उनी यतै बस्न थाले। केहि पोका मुरली र बाँसुरी लिएर उनी यहाँ आएका थिए।
‘पोका भनेको दुई बोरा जति भयो होला। त्यसको भन्सार तिरेछ। अनि यहाँ आएको’, उनले सुनाए।
बिहारमा उनी आफैँले सबै सामान बनाउँथे। यता आएर पनि धेरै वर्षसम्म बनाए। तर, पछिल्लो केहि वर्षदेखि भने आफूलाई चाहिने जति उनी मगाउने गर्छन्।
बिहारको दुर्गम गाउँमा जन्मिएका अलिमको परिवारको आम्दानीको मुख्य स्रोत नै खेतीपाती हो। अहिले पनि गाउँमा उनको श्रीमतीले खेती नै गर्छिन्। आर्थिक स्थिति कमजोर भएकै कारणले उनले पढ्न पनि पाएनन्। मदरसामा गएर उनले उर्दु समेत पढ्न सकेनन्।
‘पढेको भए त अर्को काम गर्न मन लाग्थ्यो होला,’ उनले हाँस्दै भने, ‘नमाज पनि सबै सिकेको भरमा जानेको हो। अक्षर त चिन्दैन। बरू छोराछोरीले अक्षर चिनेको छ।’
रेडियोमा मुरली र बाँसुरी बजाएको उनलाई खुब पनि पर्थ्यो। त्यहि सुन्दा-सुन्दै आफू एक दिन गायक बन्ने इच्छा पनि उनको मनमा जागेको रहेछ। त्यै भएर मेलामा गीत गाउँदै, बजाउँदै हिँड्न थाले। मेलामा बाहेक उनले अरु ठाउँमा गाउने गर्दैनन्। गायक बन्ने भनेर मेलामा हिँडेका उनी बाँसुरी व्यापारी पो बने।
साथीहरूसँग काठमाडौं आएका उनीहरूले व्यापार गर्ने ठाउँ पनि बाँडे। उनको भागमा ठमेल पर्यो। उनको साथीहरूले लामो समय पाटन र भक्तपुरमा काम गरे पनि उनीहरू घर फर्किसके। अलिम भने व्यापार खस्किए पनि यतै रमाइरहेका छन्।ठमेलका पर्यटकहरूको अगाडी बाँसुरी बजाउन उनलाई खुब मनपर्छ।
ठमेलको मात्र नभएर यहाँ नजिकैको हरेक गल्ली-गल्लीमा उनी पुगेका छन्। कुन ठाउँमा कसरी परिवर्तन भयो भन्ने उनलाई सब थाहा छ। प्रत्यक्षदर्शी हुन् उनी।
‘नरसिंह चोक त एकदम खुला थियो। सबै ठाउँ अलग थियो। अहिले त जहाँ गए पनि उस्तै छ नि’, उनले भने।
‘काठमाडौं ठिक छ’
अहिले त उनलाई कसैले नाम सोध्यो भने पनि ‘अलिम मुरलिवाला’ भन्ने गर्छन्। अन्य ठाउँको पर्यटक भन्दा नेपाली र भारतीय पर्यटक उनको मुख्य ग्राहक थिए। पछिल्लो समय त्यो पनि निकै कम भएका रहेछन्। अहिले त उनको आम्दानी भनेको बाँसुरी बजाए बापत कसैले फोटो/भिडियो खिच्छन् अनि पचास/सय रुपैयाँ हातमा हालेर जान्छन्, त्यत्ति हो।
‘पहिला त सिजन अनुसार चल्थ्यो नि! गायकहरूले किन्थ्यो,’ उनले विस्तारमा भने, ‘तर अब अहिले त सबै ठाउँमा पाउँछ। बाटोमा किनेको मुरली र बाँसुरी बजाएर को गायक बन्छ। पहिला खाली, सुनसान भएको ठमेलमा राम्रो व्यापार हुन्थ्यो। अहिले ठूलो-ठूलो होटल, घर भएको ठमेलमा व्यापार भए पनि चित्त बुझ्दैन।’
उमेरले उनी ६० पुगे। शारीरिक रूपमा केहि कमजोर पनि भइरहेका छन्। तर, पनि खुसी हुँदै, मन लागेको आफ्नो बाजा बजाउँदै पर्यटकहरूलाई खुसी पार्न पछि पर्दैनन्। अहिले उनको थैलीमा २५० रुपैयाँदेखि ११ सय रुपैयाँसम्म पर्ने बाँसुरी छ।
‘अहिले पैसाको भाउ छैन। दिनमा आठ, नौ सयसम्म हुन्थ्यो पहिला। त्यो भनेको त धेरै हो नि! अहिले त हजार रुपैयाँ नै भयो भने पनि त्यसको भाउ नै छैन’, उनले भने।
व्यापारको लागि उनी नुवाकोटको त्रिशुलीसम्म पुगेका रहेछन्। अहिले पनि सधैँ झैँ खाना बनाएर खाएर उनी ठमेल डुल्न निस्कन्छन्। दिनभर डुलेर साँझ डेरामा फर्कन्छन्। व्यापार भए पनि नभए पनि खुसी भइराख्छन्।
दुई/तीन महिनामा गाउँ पनि जान्छन्। त्यहाँ गएर सकेजति खेतीमा काम गर्छन्। यहि काम गरेर उनले आफ्नो छ जना सन्तानलाई हुर्काए र पढाए।
‘म आफैँ ठिक भएर होला। नेपाल र काठमाडौं ठिक छ,’ उनले हाँस्दै भने, ‘यहाँको मान्छेहरू इज्जत गर्छ। सुरक्षा छ। अहिलेसम्म मलाई इन्डियन भनेर गाली गरेको छैन। नत्र अरू ठाउँमा त धेरै साथीहरूले पिटाइ समेत खान्छ। त्यसैकारणले मलाई त नेपाल ठिक छ। यहाँको हावापानी पनि मलाई मन पर्छ। अहिले झन् राम्रो भएको छ। किनभने अहिले यहाँ गरिबी नै छैन। सबै राम्रो खान्छ, राम्रो लाउँछ। पहिला त खान नपाउने गरिब धेरै थियो नि!’
उनको छोराछोरी सबैको विवाह पनि भइसक्यो। छोराहरू सबै कमाउनको लागि भारतमै छन्। अहिले भारतमा भइरहेको चुनावमा भोट हाल्नको लागि गाउँबाट उनलाई बोलाइसकेको भएर उनी त्यहाँ जाने तयारीमा छन्। भोट हालेपछि फेरि उनी यहि कामलाई निरन्तरता दिन चाहन्छन्। शरीरले साथ दिए सम्म उनले काठमाडौं मै बस्ने सोच बनाएका छन्।
‘अब बुढो भएपछि अर्को काम गर्ने कुरा पनि भएन। मलाई यहि ठाउँ र काममा सुकुन छ’, उनले खुसी हुँदै भने।
वैशाख ३१, २०८१ सोमबार १४:५४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।