दृष्टिविहीनको पहुँच बाहिर डिजिटल मोबाइल बैंकिङ, पढेलेखेर पनि औंठा छाप गर्न बाध्य !

दृष्टिविहीनको पहुँच बाहिर डिजिटल मोबाइल बैंकिङ, पढेलेखेर पनि औंठा छाप गर्न बाध्य !

बुटवल : बुटवलको कान्ति माध्यमिक विद्यालयमा अध्यापन गराउने रजिता रेग्मी पूर्ण दृष्टिविहीन शिक्षक हुन्। उनले १० बर्षदेखि अध्यापन गराउँदै आएकी छिन्।

बुटवल–३ निवासी रजिता पूर्ण दृष्टिविहीन भएपनि सजिलै मोबाइल चलाउन सक्छिन्। फोन कल गर्ने, उठाउने मात्र होइन, उनी मोबाइलकै माध्यमबाट बैंकिङ कारोबार समेत गर्न सक्ने ल्याकत राख्छिन्।

तर, रजिता आफूले चाहेर पनि डिजिटल बैंकिङ कारोबार गर्न पाएकी छैनन्। 

‘मैले सुरक्षित ढंगले आफ्नो बैंक खाताको डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्छु भन्दा बैंकले दिँदैन। आफ्नो एकाउन्टको पैसा आफैं निकाल्न नपाउने कस्तो कानुनको विकास गरेका छौं?’ उनी प्रश्न गर्छिन्।

विद्यालयबाट प्राप्त हुने तलब निकाल्न उनले बुवालाई साथमा लगेर बैंक जानुको विकल्प छैन। बैंकले चेकमा ल्याप्चे लगाएर रकम दिनुअघि साक्षी खोज्छ। साक्षीका रुपमा रजिताले बुवालाई बैंक लैजान्छिन् अनि मात्र पैसा निकाल्ने गर्छिन्।

रजिताले आफूले डिजिटल बैंकिङ पूर्ण सुरक्षित साथ चलाउन सक्ने भएपनि बैंकको नीति भन्दै कर्मचारीले यो सेवा नदिएको बताइन्।  

‘बैंकले साक्षीका रुपमा जो कसैलाई पनि ल्याउनु पर्छ भन्छ। म घर भन्दा बाहिर गएको अवस्थामा रकम निकाल्दा कसलाई साक्षी बनाउने? फेरि साक्षीले पनि सही गर्छ भन्ने ग्यारेन्टी कसले लिने ?’ उनले भनिन्।

पूर्ण दृष्टिविहीन भएका कारण रजिताले खाता सञ्चालन गर्दा हस्ताक्षर गरेकी छैनन्। औंठा छापको प्रयोग गरेर खाता सञ्चालन गरिरहेकी छिन्। औंठा छाप प्रयोग भएकाले त्यसलाई बैंकले निरक्षर मान्छ। त्यसैले पनि बैंकिङ कारोबारबाट उनी बन्चित छिन्।

स्नातकोत्तर तहसम्मको अध्ययन सकेकी रजितालाई बैंकले भने निरक्षर कहल्याउँछ। किनकी बैंकको नीति अनुसार उनले औंठा छापबाट खाता खोलेर चलाइरहनु परेको छ। 

तिलोत्तमाको राममणी क्याम्पसमा पढ्ने तिलोत्तमा ९ का सुमन पौडेलको पनि उस्तै हाल छ। उनको बैंकमा खाता त छ तर, त्यसबाट रकम निकाल्न उनी एक्लै बैंक गए भने पाउँदैनन्।

‘आफ्नो सुरक्षा आफैं गरेर बैंकिङ सेवा लिन्छु भन्दा पाएको छैन। कसैको सहयोग लगेर पैसा निकाल्नुको विकल्प छैन,’ उनले भने।

दृष्टिविहीनका लागि एटिएम कार्ड बैंकले नदिएपनि डिजिटल बैंकिङ प्रणालीमा दृष्टिविहीनहरूलाई जोड्नुपर्ने उनको भनाई छ। स्नातक दोस्रो बर्षमा अध्ययनरत सुमनले बैंकहरुले आफ्नो नीति भन्दै आफुहरु लाई जबरजस्त निरक्षर बनाएको बताए।

रजिता र सुमन त प्रतिनिधि उदाहरण मात्र हुन्। 

दृष्टिविहीन भएका सबैका लागि बैंकिङ सेवाको पहुँच सहज छैन। बैंकले सुरक्षाको कारण देखाउँदै दृष्टिविहीनहरूका लागि डिजिटल मोबाइल बैंकिङ सेवा दिँदैन। जसका कारण आफ्नो खाताबाट रकम निकाल्न रजिता र सुमन जस्तै हजारौंले सास्ती पाइरहेका छन्।

दृष्टिविहीन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पोखरेलले दृष्टिविहीन भएपनि सक्षम सबैले बैंकिङ सेवा सहज ढंगले नपाउनु दुखद रहेको बताए। 

‘मेरो बैंक खाता र रकमको सुरक्षा म आफैं गर्छु भन्दा पनि डिजिटल सेवा नदिनु दुखद हो,’ उनले भने।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को दफा २५ मा सार्वजनिक टेलिफोन बुथ र एटीएम सेवालाई दृष्टिविहीनसमेत अपांगता भएका व्यक्तिहरूको पहुँचमा रहने गरी व्यवस्था गर्न भनिएको छ। तर व्यवहारको यो कार्यान्वयन नभएको उनले बताए। 

ती संरचना ह्विलचेयरको पहुँचमा हुनुपर्ने, एटीएम मेसिनमा हुने बटनमा उल्लेख गरिएका नम्बर वा कमान्ड अनिवार्य रूपमा दृष्टिविहीन व्यक्तिले पढ्न मिल्ने गरी ब्रेल लिपिमा राखिनुपर्ने लगायत निर्देशिकामा व्यवस्था गरिएको भएपनि कसैले पनि यो कार्यान्वयन तर्फ जोड नदिएको अध्यक्ष पोखरेलको भनाइ छ। 

बैंक तथा वित्तीय संस्थाहरूका विभेदकारी अभ्यासका कारण कतिपय फरक क्षमता भएका र विशेषतः दृष्टिविहीनहरू बैंकिङ सेवाबाटै वञ्चित हुनुपरेको सरोकारवाला बताउँछन्। भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवामा बढी अवरोध हुने गरेको छ।

एनआईसी एसिया बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रमुख तिलक सुन्दर कार्कीले दुरुपयोग हुन्छ भनेर नै डिजिटल बैंकिङ सुविधा नदिने गरेको बताए। 

‘उहाँहरूकै सुरक्षाका लागि बैंकहरुले यसो गरेका हुन्। भोलि दुरुपयोग भएर बैंकबाट रकम अन्यत्र गए जिम्मेवारी कसले लिने?’ उनले भने।

त्यस्तै, उनले राष्ट्र बैंकको निर्देशन पछि भने हस्ताक्षर गर्न सक्नेलाई डिजिटल बैंकिङ सेवा दिन थालेको बताए।

‘हाम्रो बैंककै कुरा गर्नुहुन्छ भने हामीले हस्ताक्षर गर्न सक्नेलाई डिजिटल बैंकिङ सेवा दिएका छौं। औंठा छाप लगाउनेलाई भने दिइएको छैन। अपडेट गर्न सक्ने र सुरक्षित चलाउन सक्ने अवस्थामा हामीले सेवा दिएका छौं,’ उनले थपे।

हस्ताक्षर सिकाउँदै
सक्षम रहेर पनि आफ्नो खाताबाट रकम आफैं निकाल्न नपाएपछि यतिबेला रुपन्देहीका दृष्टिविहीनहरू चेकमा हस्ताक्षर गर्न सिक्दै छन्।

माईराईट्सको सहयोगमा नेत्रहीन युवा संघ नेपालको समन्वय र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा अहिले हस्ताक्षर गर्न पूर्ण दृष्टिविहीन भएका २० जना युवा युवतीहरूले हस्ताक्षर गर्न सिक्दैछन्।

बैंकिङ प्रयोजनमा पूर्ण दृष्टिविहीन भएका व्यक्तिहरूले हस्ताक्षर गर्न नजान्दा बैंकिङ पहुँचबाट समेत टाढा हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न हस्ताक्षर सिकाउन थालिएको अध्यक्ष पोखरेलले बताए।

पूर्ण दृष्टिविहीन भएका युवायुवतीहरूको लागि आफ्नो नामको अघिल्लो अंग्रेजी अक्षर र थरको अघिल्लो अक्षरलाई लेख्न सिकाइदै छ। त्यसैका आधारमा उनीहरूले हस्ताक्षर गर्न सिकिरहेका हुन्।  

वैशाख ३०, २०८१ आइतबार १०:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।