गुल्मीको चन्द्रकोटमा मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्रीमा रोक

गुल्मीको चन्द्रकोटमा मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्रीमा रोक
फाइल तस्बिर

काठमाडौं : गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ।

गाउँपालिकाले शुक्रबार एक सूचना निकालेर मासुजन्य प्रयोजनका लागि स्त्री जातिका पशु चौपायाहरू बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो।

सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरूद्वारा पालिएका पशुचौपायाहरूमध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरूको अवैध रूपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरूबाट समेत अन्यत्र निकासी भरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ।’

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको उल्लेख गर्दै स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै मासुजन्य प्रयोजनका लागि निकासी भइरहेको थाहा हुन आएकाले किसानकै आग्रहमा सो कार्य गर्न रोक लगाएको गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले दाबी गरे।

गाउँपालिकाले उक्त कदम कानून सम्मत भएको र सूचना विपरीत गए पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कारबाही गर्ने भनाई  क्षेत्रीको छ। विशेष गरी स्त्री भैंसी बिक्रीमा पालिकाले जोड गरेरै रोक लगाएको अध्यक्ष क्षेत्रीको भनाइ छ।

‘हामीले कानूनमा व्यवस्था भए अनुसार नै सूचना जारी गरेका हौं। मासुजन्य प्रयोजनका लागि पशु चौपायाको बिक्री वितरण गर्न पाइँदैन। कि सरकारले कानून परिवर्तन गर्नुपर्यो कि कानूनी व्यवस्था कार्यान्वयन। पालिकाभित्र उत्पादन वृद्धि गर्ने हेतुले हामीले कानूनको कार्यान्वयन गरेको मात्र हौं’, अध्यक्ष क्षेत्रीले भने।

गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रीवितरण गर्नुपरेमा अनुमति लिएर गर्न सक्नेछन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ।

२१ बैशाख, २०८१, ०९:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।