गोकर्णको कान्तिभैरव गुरुकुलको बिजोग : ओछ्याउने चकटी पनि छैन, भ्वाङ परेको सेतोपाटीको भर

गोकर्णको कान्तिभैरव गुरुकुलको बिजोग : ओछ्याउने चकटी  पनि छैन, भ्वाङ परेको सेतोपाटीको भर

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकामा रहेको धार्मिक परम्परागत विद्यालय कान्तिभैरव गुरुकुल बाहिरबाट हेर्दा भव्य देखिन्छ। नयाँ अनि सुविधासम्पन्न। जब भित्र छिरिन्छ अनि देखिन्छ बिजोग।

मुठी दान र दाताहरूको सहयोगको भरमा चलिरहेको विद्यालयमा बस्न गतिलो म्याट समेत छैनन्। पढाउने बोर्ड बीचमा भ्वाङ परेका छन्। डेक्स अनि बेञ्चहरू थोत्रा छन्। गोकर्ण मन्दिरबाट पछाडिको बाटो हुँदै वा तान्लिञ्चोकबाट पनि यो गुरुकुल पुग्न सकिन्छ। उत्तरवाहिनी मन्दिरमै रहेको गुरुकुलमा पढ्ने अनुकूल वातावरण समेत देखिएन।

मन्दिरमा सधैजसो केही न केही पूजा चलिरहेकै हुन्छ। आवासीयको व्यवस्था भए पनि बस्ने स्थान व्यवस्थित छैन। कक्षाकोठा निकै साँघुरो छ। दानमा पाएको डेस्क, बेन्च जीर्ण छन्। कक्षा कोठामा राखिएको सेतोपाटी भ्वाङ परेको छ।

‘मुठी दानबाट सञ्चालन भइरहेको स्कुल हो। दाताहरूलाई यो भएन, त्यो भएन भन्न भएन,’ प्रधानाध्यापक पुष्पा पोख्रेलले उकेरासँग भनिन्, ‘पालिकाले पनि मन लागेको बेला अनुदान दिने हो। त्यै पनि हामी गुजारा गरिरहेका छौँ।’

यो विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ। आवासीय भएकाले छात्रहरूले मात्र पढ्न पाउँछन्। पढ्नका लागि आवश्यक मापदण्ड भनेको पाँच कक्षा पास अनि व्रतबन्ध गरेको हुनुपर्ने हो।

कक्षा १२ सम्मको पढाइ स्थानीय सरकारको अधिकारमा भए पनि धार्मिक परम्परागत विद्यालयहरू लागि भनेर खासै ध्यान दिएको देखिएन। केही पालिकामा त यस्तो विद्यालय नै छैनन्। गोकर्णेश्वरमा पनि यही एउटा मात्र धार्मिक विद्यालय हो।

अव्यवस्थित गुरुकुल !
‘१२ कक्षासम्म चलाएको स्कुललाई त १० लाख बराबरको अनुदार दिनुपर्ने हो। तर, त्यो अनुदान पनि पूरा आएको छैन। पहिला छ लाख रुपैयाँ दिएको हो। त्यतिले कसरी धान्नु’, प्रधानाध्यापक पोख्रेलले भनिन्।

उनका अनुसार त्यो अनुदान पनि पालिकाले शिक्षक पठाउनुको सट्टा उपलब्ध गराएको देखियो। अब नयाँ शैक्षिक सत्र सुरु भएसँगै पालिकाको प्राथमिकतामा फेरि परिन्छ कि परिँदैन भनेर उनीहरू चिन्तित देखिए।

स्थानीय पण्डित ऋषिराम पोख्रेलले गोकर्णको विभिन्न मन्दिरको पाटीमा केही छात्राहरूलाई जम्मा पारेर गुरुकुलको अनौपचारिक शिक्षा सुरु गरेका थिए। २०६५ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमा गुरुकुल दर्ता भयो। दर्ता भएको लामो समयसम्म पनि सरकारी अनुदानविनै गुरुकुल सञ्चालन भइराख्यो।

संस्कृत र वेद लगायतका केही कर्मकाण्ड सम्बन्धी शिक्षा पढाइ भइरहेको भए पनि पछि सरकारी पाठ्यक्रम अनुसार नै पढाइ हुन थाल्यो। 

बिहान ४ बजे उठेर, नुहाएर रुद्री गरेपछि यहाँ पढाइ सुरू हुन्छ। अनि साढे नौ बजे शाकाहारी भोजन हुन्छ। त्यसपछि फेरि पढाइ। एक बजे खाजा अनि पढाइ। संस्कृत, वेद, कर्मकाण्डसङै नेपाली, अङ्ग्रेजी, गणित र व्याकरणको पनि पढाइ हुने गरेको देखियो।

प्रधानाध्यापक पोख्रेलका अनुसार अहिलेसम्म पालिकाले दुई पटक मात्र अनुदान दिएको छ। यहाँ अहिले ७० जना छात्र पढ्छन्।

‘थोरै विद्यार्थी छन्। उनीहरूको लागि पाठ्यपुस्तक मात्र नि:शुल्क गराए पनि हामीलाई धेरै सहयोग हुन्थ्यो’, उनले भनिन्।

शिक्षकको हकमा पनि त्यस्तै अप्ठ्यारो देखियो। पालिकाले नगर स्रोत शिक्षक पठाउने गरे पनि त्यसको कुनै समयावधि छैन। अनि अनुदानबाट खर्च धान्न सक्ने देखिएन।

‘सबै पार्ट टाइम जस्तो शिक्षकहरू हुनहुन्छ। कहिले त दाताहरूले नै केही समय पढाउनु पनि हुन्छ। सबै भन्दा गाह्रो त गणित शिक्षक पाउनु छ। बल्ल-बल्ल पायो भने पनि धेरै समय बस्नुहुन्न। अरूमा धेरै तलब पाउने हुँदा हाम्रोमा कुनै पनि शिक्षक बस्नै सक्नुहुन्न’, उनले गुनासो गरिन्।

अहिले दश जना शिक्षक छन्। विद्यालयमा प्रधानाध्यापक पोख्रेल र अङ्ग्रेजी विषय पढाउन शिक्षिका रहेको देखियो। गुरुकुलको केही भवनहरू नयाँ देखिन्छ। तर, रंगरोगन गर्न अझै बाँकी नै छ। उकेराकर्मी उत्तरवाहिनी पुग्दा भवन नयाँ भए पनि भित्रको अधिकांश सामान निकै पुरानो र काम नलाग्ने जस्तो देखिन्थ्यो।

भवनहरू भने बागमती सभ्यताले बनाइदिएको रहेछ। जग्गा कान्ति भैरव क्षेत्र व्यवस्थापन समितिको भएकाले विवाद देखिएन।

प्राथमिकतामै छैन गुरुकुल
मन्दिरकै जग्गा भएको कारण मन्दिरमा हुने विभिन्न गतिविधिले पढाइमा असर गरे पनि यहाँ पढ्ने र पढाउनेहरूलाई हल्लाको बानी परिसकेको रहेछ। आवासीय सहितको चार वटा भवन गुरुकुलमा भए पनि कक्षा कोठाको लागि जम्मा १३ वटा मात्र प्रयोग भइरहेको देखियो।

त्यसमध्ये एक भवन त एक इन्जिनियर दाताले आफ्नो  पितृको सम्झनामा बनाइदिएको प्रधानाध्यापक पोख्रेलले बताइन्।

‘समितिले सकेसम्म स्रोत जुटाउने प्रयास पनि गरिरहेको छ। पालिकामा पनि बजेट नभएरै त नदिनु भएको होला,’ उनले भनिन्, ‘नत्र वेद भुईँमै बसेर भए पनि पढाउन सकिन्छ। तर, ओछ्याउने छैन। कहिलेकहीँ त यस्तो दुरावस्थामा स्कुल छ, सरकारले किन पढाउन अनुमति दिएको होला भन्ने लाग्छ।’

गुरुकुलमा स्थानीय छात्रहरू छैनन्। अधिकांश निम्न आय भएकाहरू देखिए।  लामो समयसम्म यसको संस्थापक अध्यक्ष ऋषिराम नै विद्यालयको प्रधानाध्यापक थिए। उनी नसक्ने भएपछि पोखरेल नियुक्त भइन्। पोख्रेल यहाँ पाँच वर्ष देखि प्रधानाध्यापकको पदमा छिन् ।

गोकर्णेश्वर नगरपालिकामा १ नमुना विद्यालय सहित सामुदायिक विद्यालय १६ वटा, संस्थागत विद्यालय १ सय १७ वटा, धार्मिक तथा वैकल्पिक विद्यालय १० वटा, प्राविधिक तथा व्यावसायिक धारका विद्यालय एउटा र बाल विकास केन्द्र १८ वटा छन्।

यस विषयमा उकेराले नगर शिक्षा शाखासँग एउटा मात्र गुरुकुल भए पनि किन पालिकाको प्राथमिकतामा नपरेको भनेर सोधेको थियो। शिक्षा शाखाका स्रोत व्यक्ति रामनारायण शाहले गुरुकुल हेर्न जाँदा अवस्था बिजोग देखिएको बताए।

‘अवस्था त बिजोगै रहेछ। हामीले गर्न सकेको त गरिराखेकै छौँ। शिक्षा मन्त्रालयले नै धार्मिक विद्यालयहरूलाई बढी प्राथमिकतामा राख्नुपर्यो। मन्त्रालयले प्राथमिकतामा राखेपछि पालिकाले पनि स्वतः राख्ने हो’, उनले भने।

१९ बैशाख, २०८१, १६:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।