समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनुपर्छ : नेता सिटौला

समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनुपर्छ : नेता सिटौला

काठमाडौं : कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरू आपसमा विभाजित भए पनि समाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरू आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौँ। तर हामीले विभाजित भएर समाजलाई हिनाउने होइन, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ। आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्व विचार गर्नुपर्छ।’

समाजको प्रगतिमा नै सबैको प्रगति हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिए।

एक आपसमा दलहरू झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उनले सिंगो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राखे।

कार्यक्रममा सहिद गंगालालको योगदानको स्मरण गरेका उनले विभिन्न आन्दोलनहरूमा ज्यानको आहुती दिएका सहिदहरूले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागि सबै दलहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरेका हुन्। राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने भनाई उनको थियो।

शहीदहरूको आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सद्भाव एवं सिंगो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने भन्दै उनले थपे, ‘हामीले ठूल्ठूला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौँ। अब समाजलाई सही बाटोमा हिँडाउने, समाजमा कोही पनि मानिस पछि नपरोस् भनेर सोच्ने बेला आएको छ। आर्थिक रूपमा पछाडि परेकाहरूको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

१९ बैशाख, २०८१, १३:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।