२०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा निःशुल्क : प्रधानमन्त्री

२०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा निःशुल्क : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन्। शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएकोमा शुभकामना दिँदै उनले विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउनका आह्वान गरे।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार रहेको र यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारमा रहेको उनले बताए।

गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि नेपाल सरकारले विभिन्न प्रयासहरू गर्दै आएको र नेपाल सरकारले बर्सेनि विद्यालय शिक्षामा ठुलो लगानी गरेको भन्दै उनले शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदारहरू, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य रहेको बताए।

एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बिचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी सरकारमा रहेको र यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेको उनले उल्लेख गरे।

'सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको छ।

विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएका छन्। यी प्रयासहरूलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन हाम्रा सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा लिएको छु' शुभकामनामा भनिएको छ।

२ बैशाख, २०८१, ०९:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।