वर्ष २०८० : पुराना नेताको जेलको बास, नयाँ प्रतिको आश सत्यानाश
काठमाडौं : शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालको चर्चा व्यर्थ छ। यी हिजो जस्ता थिए उस्तै छन्। २०८० भर उस्तै रहे।
व्यवहारिक रुपमा राजनीतिको केन्द्रमा रवि लामिछानेको उदय २०७९ मै भए पनि प्राविधिक रुपमा संसद यात्रा २०८० को उपनिर्वाचनबाटै भएको हो। छोटो समयमा २१ सिटसहित राजनीतिमा उदाएर सत्ताको उपल्लो तह पुग्न एक खुड्किलो बाँकी राखेर उपप्रधान तथा गृहमन्त्री भए उनी।
बोली र ब्यबहारको परीक्षण भने २०८० मै भयो। सत्तामा रहँदा र प्रतिपक्षमा रहँदाको फरक बोली र ब्यबहारको नेपाली नेताको छवि उनले पनि कायम गरे।
निष्क्रिय नागरिकता सक्रिय नै छ भन्दै हठ गरे पनि प्रमाणमा पछारिए। तर चेतेनन्।
सत्ता सौदाबाजी गरेर राजनीतिक यात्रा सधैंका लागि बिराम लगाइदिन सक्ने राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचल्ने प्रशासनिक निर्णय गराएर संकट अल्पकालका लागि टार्न सफल भए। तर सर्वोच्चमा तरबार झुन्डिएकै छ।
खोयाबाट प्रारम्भ भएको सहकारी ठगीको संकट हटेन, सत्तामा प्रवेश गरेसँगै थप चर्कियो।
अनुसन्धानको घेरामा रहेका एक मिनेट पनि सरकारमा बस्न योग्य हुन्नन् भन्ने उनी जाबो उजुरी पर्दा नि छानबिन गर्नु पर्छ र भन्ने तहमा पुगेका छन्। असल नेताको आश देखाएर केन्द्रीय राजनीतिमा उदाएका उनलाई विगतका दण्डनीय कसुरले लखेटिरह्यो।
उनी सामना गर्न भन्दा छलछाममै केन्द्रित भइरहे २०८० भर। योक्रम २०८१ मा जारी नै रहने निश्चित छ।
२०८० मा तनहुँबाट उदाएका स्वर्णिम वाग्ले रविको प्रतिरक्षामा दिन प्रतिदिन अलोकप्रिय हुँदै गएका छन्। उनले गर्ने कुतर्कले अब्बल अर्थशास्त्रीको छवि धूमिल हुँदैछ। छरपस्ट भएका आरोपको सामनाका लागि प्रोत्साहित गर्नुपर्नेमा छानबिनबाट भाग्न उत्साहित गरिरहेका छन्।
नेपाली कांग्रेसबाट लामो समय रजगज गरेका बालकृष्ण खाँणमाथि नक्कली भुटानी शरणार्थी ठगीको गाँज खस्दा साख टुक्रा-टुक्रा भयो। यसैमा मिसिए टोपबहादुर रायमाझी।
यौन दुराचारको अभियोगमा जेलसम्म पुगेर पनि राजनीतिमा फर्कन सफल भएका कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएर थला परे। सत्ताको सहयोगमा प्रहरी हिरासत बाहिर त छन् तर जेल पुग्छन् कि बाहिरै बस्छन् पक्का छैन। तर अब सक्रिय राजनीतिमा उनको विलय निश्चित छ।
एकीकृत समाजवादीबाट फरक राजनीतिक उदयको प्रयासमा सकारात्मकै देखिएकी रामकुमारी झाँक्री पार्टीभित्रै अल्मलिइन्। एमालेभित्रमा योगेश भट्टराईहरू पार्टी विवादमा माधव नेपालतिर लागेकोमा दण्डित भइरहे। पदम गिरी, महेश बर्तौलाले मौका पाए।
संयमता र तर्कशिल शैलीको साटो उग्रता पछ्याउँदा गगन थापा तनहुँको उपनिर्वाचनमा पछारिए। रिकभरको प्रयास जारी छ।
विश्वप्रकाश शर्माले आफ्नो लय समातेकै छन्। यी दुवैको बीचबाट फुत्त निस्किएर लाइमलाइटमा आउन प्रदीप पौडेलको प्रयास जारी छ।
पार्टी प्रमुख प्रतिपक्ष भएपछि रमेश लेखकको नयाँ शैलीको वाककला देखियो। अन्य कांग्रेसी नेताको हकमा उस्तै-उस्तै हो। उकासिनुको साटो चाम्रिँदै छन्।
स्वास्थ्यमन्त्री बनेर मोहन बस्नेतले बदनामीको बहीखाता बढाए। डा. प्रकाशशरण महतले असफलताको बहीखातामा पाना थपे।
जनमत पार्टीबाट उदायका सिके राउत नयाँ शैलीको राजनीतिक अभ्यास जारी राखे। दुई पटक मौका पाउँदा पनि उनी मन्त्री पदमा लोभिएनन्। तेस्रो पटक प्रतिपक्षको सिट रोजे।
नागरिक उन्मुक्ति पार्टी सत्ताको लोभमा घर झगडामा फस्यो। संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीचको मारामार भयो, उन्मुक्तिको आश गरेकाहरू ट्वाल्ल परे।
पार्टी नेतृत्व खस्कँदै गएपनि बरु रास्वपाकै केही नेता गाँड कोराकोर छाडेर काममा केन्द्रित भए।
सुमना श्रेष्ठ यसमा अग्रपङ्क्तिमा देखिएकी छिन्। सांसदको रूपमा अब्बल प्रभाव पारेकी उनले शिक्षामन्त्रीको रुपमा चिकित्सा शिक्षा छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भ गरिन्। परीक्षण अझै जारी छ।
गणेश पराजुली, सोबिता गौतम, शिशिर खनालले आशालाग्दो गतिविधि देखाएका छन्। यी दुबै अनावश्यक फुटेज खान अनि अवसरको लोभमा पार्टी नेतृत्वको बचाउमा सक्रिय देखिएका छैनन्।
चैत ३०, २०८० शुक्रबार २१:२९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।