राप्रपा प्रदर्शन : कार्यकर्ताले ढुंगाले हानेपछि प्रहरीको लाठिचार्ज र पानीको फोहरा, ज्ञानेन्द्र शाही पक्राउ

राप्रपा प्रदर्शन : कार्यकर्ताले ढुंगाले हानेपछि प्रहरीको लाठिचार्ज र पानीको फोहरा, ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंस्थित भृकुटीमण्डप, भद्रकाली लगायतका क्षेत्रमा प्रदर्शन गरेको छ।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेको जनाएको छ। 

राप्रपाले गत फागुन ९ गते राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा ४० बुँदे माग नेपाल सरकार समक्ष पेस गरेको थियो। 

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललितानिवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुनकाण्ड लगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही लगायतको माग गरेको छ। 

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पेश गर्दै आफूहरूको मागपत्र तत्काल कार्यान्वयन नभए आन्दोलनको चेतावनीसमेत दिएको थियो। जवाफमा प्रधानमन्त्री प्रचण्डले आन्दोलन शान्तिपूर्ण रूपमा गर्न र शान्ति प्रक्रियामा सहयोग गर्न आग्रह गरेका थिए।

तथापि उक्त मागपत्रको दुई महिना हुन लाग्दासम्म पनि कार्यान्वयनको छाटकाट  नदेखिएपछि राप्रपाले आज विरोध प्रदर्शन गर्यो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भद्रकालीमा झडप हुँदा प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अहिलेसम्म दुई सेल अश्रुग्याससमेत प्रहार गर्नुपरेको हो। 

देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेका थिए। प्रहरीले रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि बल प्रयोग गरेको हो। 

प्रहरीले पानीका फोहरा हानेपछि आन्दोलनकारी तितरवितर भएका छन्। प्रहरीले निरन्तर पानीको फोहरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको छ। 

सो क्रममा प्रदर्शनकारीले ढुंगा हानेका थिए भने त्यसपछि प्रहरीले लाठीचार्ज गरेको छ।

राप्रपाका अध्यक्ष्य राजेन्द्र लिङ्देनसहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको प्रदर्शनमा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको भन्दै उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यता, जारी प्रदर्शनमा चार हजार बढी प्रहरी परिचालन गरिएको छ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

२७ चैत, २०८०, १५:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।