अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक

अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक

काठमाडौँ : गृह मन्त्रालयले अपराध अनुसन्धानको प्रयोजनबाहेक अन्य जिम्मेवारीमा रहेका प्रहरी सादा पोसाकमा खटिन रोक लगाएको छ। प्रहरीको युनिटैपिच्छे कार्यालय प्रमुखले अपराध अनुसन्धान प्रयोजन भन्दै अन्य जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीलाई समेत घुमुवाको रूपमा सादा पोसाकमा खटाउँदै आएको छ।

मन्त्रालयले बिहीबार गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसारको निर्देशन जारी गर्दै सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन निर्देशन दिइएको हो।

निर्देशनमा हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

परिपत्रमा प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ। गृहले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, प्रदेश प्रहरी कार्यालयलाई परिपत्र मार्फत निर्देशन पठाएको हो।

को-कसले सादा पोसाकमा खटाउन पाउँछन्?

प्रहरीमा जनपद समूहमा अपराध अनुसन्धान र दैनिक शान्ति सुरक्षामा प्रहरी खटाउने गरेको छ। मुख्य त प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, लागुऔषध अनुसन्धान ब्युरो, साइबर ब्युरो, मानव बेचबिखन ब्युरो, विशेष ब्युरो र काठमाडौँ उपत्यकाको हकमा उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका जनशक्ति सादा पोसाकमा खटिने गरेका छन्।

प्रदेशका हकमा केन्द्रबाट ब्युरोको अपराध अनुसन्धान गर्ने जनशक्ति खटाउने गरिन्छ। उपत्यकाको हकमा डिएसपी प्रमुख रहने वृत्तहरूमा समेत उपत्यका अपराध अनुसन्धान कार्यालयको जनशक्ति खटाउने गरिन्छ।

अपराध अनुसन्धानका लागि अलग्गै जनशक्तिको व्यवस्था गरिए पनि कार्यालय प्रमुखले आफू अनुकूलको काम लगाउन नियमित शान्ति सुरक्षामा खटिने दरबन्दी भएकाहरूलाई समेत सूचना सङ्कलनको बहानामा सादा पोसाकमा खटाउने गर्दै आएका छन्।

सादा पोसाकमा खटिने जनशक्ति आपराधिक सूचनाभन्दा अर्थ केन्द्रित गतिविधिमा बढी संलग्न हुँदा प्रहरीभित्रको घुमुवा बदनाम हुँदै आएको छ।

चैत १५, २०८० बिहीबार १८:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।