सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपमा सदभाव शीर्षस्थानमा
काठमाडौं : एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।
बुधबार २-अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्। भुवनले बुधबार १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा रहेका छन्।
अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्।
दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन। विजयले १-ओभर ७३ मा खेल सकाए।
१-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले ३-अण्डर ६९ को कार्ड तयार पारे।
यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा खेल पूरा गरे।
समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्त रूपमा नवौं स्थानमा छन। दुवैले ४-ओभर ७६ मा खेल पूरा गरे।
लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए।
तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।
भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्।
१५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।
दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।
विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पूरा गरे।
विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
चैत १५, २०८० बिहीबार ०८:२२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।