कलाकार लक्ष्मण बिक्रम बस्नेतको हिजोको कुरा : अहिले वीपी-वीपी भन्छन्, तर तिनी गतिलो मान्छे थिएनन्
नाटक हुँदै फिल्म तथा टेलिफिल्ममा अभिनय गरेर चर्चामा आएका कलाकार हुन् लक्ष्मण बिक्रम बस्नेत।
‘अविरल बग्दछ इन्दावती’, ‘देवी’ लगायतका टेलिसिरियलमा काम गरेर नेपाली दर्शकमाझ परिचित उनी पछिल्लो समय ‘बुहारी’ सिरियलमा अभिनय गरिरहेका छन्।
सिरियल मात्र नभएर फिल्ममा समेत काम गरिसकेका उनले दीपकराज गिरीको टिमले निर्माण गरेको फिल्म ‘छ एकान छ’, ‘छक्का पञ्जा’को सिरिज सबैमा काम गरेका छन्।
थुप्रै फिल्म तथा टेलिफिल्ममा काम गरेर चर्चामा आएका लक्ष्मण अहिले पनि तगडा छन्। देशमा राणकालीन शासन चल्दा वि.सं. २००२ मा जन्मिएका उनले प्रजातन्त्र, पञ्चायत, राजतन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र समेत बेहोरिसके।
काठमाडौंको तत्कालीन मनमैजु गाउँ विकास समिति वडा नम्बर १ मा जन्मिएका उनले आईएसम्मको अध्ययन गरेका छन्। चार दाजुभाइमा उनी साइँला हुन्। तीन दाजुभाइ परलोक भइसके। उनी अहिले पनि फिल्म र टेलिफिल्ममा काम गरिरहेका छन्।
मनमैजुमा नै स्कुल पढ्दा उत्तम केसी लगायतसँग नाटक खेल्दै र जागिर गर्थे लक्ष्मण। २७ सालमा सर्वोच्च अदालतमा सुवेदारको जागिर खाएका उनको चार विकास क्षेत्र हुँदा पोखरा सरुवा भयो। तर उनी त्यहाँ टिक्न सकेनन्। भनसुन गरेर काठमाडौं नै फर्किए।
त्यसपछि उनी गाविस सचिव भए र काठमाडौंका आसपासमा बसेरै काम गरे। सरकारी कर्मचारी र कलाकारसमेत रहेका उनीसँग पञ्चायत व्यवस्थादेखि गणतन्त्र आउँदासम्मका थुप्रै अनुभवहरू छन्। त्यहिमध्ये उनले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरामा आफ्नो अनुभव साटेका छन्।
०००
मेरो जन्म २००२ साल पुष २ गते तत्कालीन मनमैजु गाविस वडा नम्बर १ मा भएको हो। अहिले यो ठाउँ तार्केश्वर नगरपालिका-१ भयो। चार दाजुभाइमा म साइलो। २००७ सालको आन्दोलन हुँदा म जम्मा पाँच वर्षको थिएँ। मलाई कता-कता त्यो समयमा बालाजु आसपासमा दौडिएको झ-झल्को आउँछ। २००७ सालको राणा विरोधी आन्दोलनको मधुरो याद छ।
१५ सालमा आम निर्वाचन भएको थियो। त्यसबेला बालाजु बाइपासमा चुनाव भएको थियो। हामी पनि हेर्न गएका थियौँ। भोट दिनका लागि मान्छेहरू लाइन लागेर बसेको मलाई अहिले पनि सम्झना छ। त्यो चुनावमा कांग्रेस विजयी भयो भन्ने हल्ला गर्थे। हामी भोट दिने समयमा मात्रै गइयो, बाँकी सय घरकै कामले फुर्सद हुँदैनथ्यो। कि गाईबस्तु लिएर बाइपासतिर चराउन जानुपर्थ्यो कि त स्कुल।
मैले थाहा पाउँदा स्कुल जाने विद्यार्थीहरू थुप्रै हुन्थेँ। हामी मनमैजुबाट ४५ मिनेट जति हिँडेर ठमेलस्थित शान्ति माध्यमिक विद्यालय जान्थ्यौँ, त्यो पनि खाली खुट्टै। त्यो बेलामा जुत्ताचप्पल हुँदैनथ्यो। मैले त्यसरी आईएसम्मको अध्ययन गरे। त्यहाँबाट उता पढ्नै सकिनँ। आमाको रेखदेखका कारण मैले पढाइमा ध्यान दिन पाइनँ।
अहिले पो थाहा भयो, उहाँलाई त्यो समयमा प्यारालाइसिस भएको रैछ। त्यस बेला के भाको हो भन्ने थाहा थिएन। पिर्या रैछ भन्थेँ। त्यो समयमा मेरो पिताजीले जमिन किन्नुभएको थियो। त्यहि सालबाट आमालाई बिमारले भेटेको थियो। ज्वरो आउन थाल्यो, अस्तव्यस्त हुन थालेपछि डाक्टर कहाँ लग्यो झन् च्याप्ने। जान्ने झाँक्रीकोमा यता लग्यो उता लग्यो त्यो गर्दा पनि भएन। अन्ततः उहाँ २०२४ सालमा बित्नुभयो।
पढ्नेलाई रोकतोक थिएन
त्यो समयमा पढाइमा रोकतोक थियो भन्ने सुन्छु। तर, रोकतोक भएको मलाई थाहा छैन। अहिलेको भन्दा त्यो समयमा अनुशासन थियो। अनि आफूले कर्तव्य निभाउँदा सहज हुन्थ्यो। अहिले त बगैँचामा सुगुर छोड्या जस्तो लाग्छ। हामीले त्यो समयमा स्कुलका गुरुहरूको अनुहार पनि राम्ररी हेर्न सक्दैनथ्यौं। हामीलाई डर लाग्थ्यो, सभ्य थियो। अहिले त विद्यार्थीले मास्टर पढाउने भइसकेका छन्।
छोरी मान्छेलाई पढ्न दिइँदैनथ्यो भन्ने पनि सुन्छु। सबैले पढ्थे, त्यस्तो भेदभाव थिएन। के चाहिँ थियो भने एउटा साइडको बेन्चमा केटाहरू बसेर पढ्थेँ भने अर्को साइडमा केटीहरू। उनीहरूसँग खासै बोलचाल हुँदैनथ्यो। केटाकेटी सँगै बसेर पढ्न पाइन्नथ्यो। त्यहि भएर स्कुलमा एकातिर केटा र अर्कोतिर केटीको बस्ने ठाउँ हुन्थ्यो। हाम्रो पालामा त्यसरी पढाइ हुन्थ्यो। शिक्षकहरूले राम्रै पढाउँथे।
‘कसैसँग रिस उठे तेरो घरमा कांग्रेस पसोस् भन्थे’
त्यो बेलामा झगडा भने कम हुन्थ्यो। सायद कानुन बलियो भएर पनि होला। त्यो बेलामा कसैसँग रिस उठ्यो भने ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्थे। त्यो बेला कांग्रेसले इण्डियालाई देशै सुम्पिने योजना गरेको हल्ला चलेको थियो। वीपीले गतिलो काम नगरेको हुनाले महेन्द्रले जेल हाल्न खोजेका थिए। अहिले मान्छेहरू वीपी-वीपी भन्छन्, तर तिनी गतिलो मान्छे थिएनन्। भारतले जे भन्यो त्यहि काम गर्थे उनी।
हरेक मान्छेका एक पाटो राम्रो र एक पाटो नराम्रो हुन्छ भनेर। हो उनका कतिपय कुराहरू राम्रा पनि थिए र कतिपय राम्रा कामहरु थिएनन्। वीपीले भारतका नेताहरूसँग परामर्श गर्दै देशमा विदेशी शक्ति भित्र्याउ लागेको हुनाले राजा महेन्द्रले कु गरेर सत्ता कब्जामा लिएर पञ्चायती व्यवस्था लागू गरेका थिए।
महेन्द्रले सत्ता हातमा लिएको दश वर्षभित्र चाइनासँग हारगुहार गरेर काठमाडौंका बाटोहरू, मुग्लिङ सडकदेखि लिएर जुत्ता कारखाना, बालाजु औद्योगिक क्षेत्र, हेटौंडा औद्योगिक क्षेत्र लगायत २ सय वटा उद्योग खोलेको देखियो। किनभने त्यो बेलामा काम गर्नेहरू सबै चाइनिजहरू थिए। उनीहरूको नेतृत्वमा काम गरेका थिए।
अहिले म के बुझ्छु भने त्यो बेला देश र जनताका लागि काम गर्ने चाहिँ सामन्ती भए, अनि जनालाई दमन गरेर राज्य चलाउने अहिले जनताको रगत चुस्नेचाहिँ साम्यवादी। व्यवस्था जुनसकै भए पनि सत्ता चलाउने राम्रो मान्छे भयो भने ठिक हुने रैछ।
पञ्चायती व्यवस्था खडा गरेका बेला राजा महेन्द्रले राम्रो काम गरेको देखेपछि भारतको रक्सौलमा उनको टोपी र नेपालको झण्डा जलाएको खबर सुनिएको थियो। भारतले त्यो बेलादेखि नै नेपाललाई कहिल्यै प्रगति गरेको देख्न चाहेन। उसको नीति सधैँ दबाउने थियो र अहिले पनि छ। नेपालमा भएका उद्योगहरू सबै बेचेर अहिले नेपालीहरू खाडी मुलुक जानुपरेको छ।
त्यो बेलामा खानलाई दुःख थिएन। पैसा भने एकदमै महंगो थियो, कमाउनै मुस्किल। घरमा एउटा दौरा हालिदिए भने कट्टु हुँदैनथ्यो। खेतीपाती प्रशस्त थियो। हाम्रो नै २०/२२ रोपनी यहि आँखै अगाडि थिए। अहिले घरै-घर भइसकेका छन्। पुर्खाको केहि टुक्रामात्र बाँकी छ। त्यो १५ सालको चुनावमा लाइन लागेर भोट हाल्थे। न पैसामा कोही बिक्थ्यो न कसैले दिन्थ्यो। मनले जसलाई रोजेको छ, त्यसैलाई भोट दिन पाइन्थ्यो।
सर्वोच्च अदालतमा जागिर
२०२४ सालमा आमा बितेपछि म अलिकति फुर्सदिलो भएँ। त्यसपछि २०२७ सालमा लोकसेवा आयोगमा परीक्षा दिएर सर्वोच्च अदालतमा सुबेदार भएँ म। सर्वोच्च अदालतमा हुँदा मैले धेरै अनुभवहरू बटुलेको छु। राजा वीरेन्द्र भक्कानिएर रोएको पनि देखेँ।
२०२८ सालमा सिंहदरबार जल्दा राजा वीरेन्द्र भक्कानिएर रुँदै हिँडेको देखेको थिएँ मैले। सिंहदरबार पश्चिमको पृथ्वीनारायण शाहको शालिकमा फन्को नमारी सिधै रुँदै-रुँदै गाडी हुँइक्याएर हिँडेका थिए। उनको त्यो रुँवाइ देख्दा मलाई अहिले पनि रुन मन लाग्छ। व्यक्तिगत सम्पत्ति नभए पनि देशको सम्पत्ति जल्दा त्यो बेलाका शासकहरू निकै चिन्ति हुन्थे।
अहिलेको त के कुरा गर्नु। विदेश जान्छु भन्ने दुई जना केटाहरूलाई बालकुमारीमा मारे र दश लाख बाँडे। त्यो पनि खुसी-खुसी। अहिलेका शासकको कुरै नगरौँ बाबु। देशप्रतिको चिन्ता कसैसँग पटक्कै देखिनँ।
ललिता निवासमा मन्त्रीले भनेको कुरा खुरु-खुरु मान्न मिल्छ कर्मचारीले? मन्त्री त भोलि गइहाल्छ। म साइन गर्दिनँ भनेर अड्डी कस्नुपर्दैन कर्मचारीले। हदै भए सरुवा गर्दिन्थे होला। त्यत्ति न हो। त्यो बेला सर्वोच्चमा छिस्रिक्क गर्न पाँइदैनथ्यो। निश्पक्ष थियो। अहिले त न्यायालय पनि पार्टीका कार्यकर्ता भर्ती केन्द्र भए। त्यो बेलामा सक्षम व्यक्तिहरू मात्रै न्यायाधीश हुन्थे।
बालाजु उद्योगमा काम गर्नेको लर्को
त्यो समय बालाजुमा काम गर्नेहरू लर्को लागेर जान्थेँ। हामी गाइवस्तु चराउन जाँदा काम गर्न जाने र आउनेको लर्को लागेको देख्थ्यौँ। तीन सिफ्टमा काम हुन्थ्यो। बिहान ५ बजेदेखि नै मान्छेहरू खाना बोकेर काममा हिँड्थे। आठ घण्टाभन्दा बढी समय काम लगाउने नियम थिएन। बिहानको समयमा काम गर्नेले ८ घण्टापछि घर फर्कन्थेँ। त्यसपछि अर्को टिम हुन्थ्यो।
रातभरि नै उद्योगमा काम भइरहेको देख्थ्यौँ। त्यो बेला कसैको कसैलाई डर हुँदैनथ्यो। अहिले पो साँझ परेपछि घर पुगिन्छ कि पुगिँदैन भन्ने भयो। त्यो बेला त रातभरि हिँड्दा पनि कसैले केहि गर्दैनथे। त्यहि भएर त्यो उद्योगमा काम गर्नेहरू मजाले साँझ बिहान जतिबेला पनि काम गर्न जान्थे र फर्कन्थेँ।
मैले मेरी श्रीमतीलाई बालाजुमा रहेको घरेलु उद्योगमा बुनेको लुगा ३०/४० रुपैयाँमा किनिदिएको छु। मैले पनि लगाएको छु। सारै राम्रा हुन्थेँ। धेरैले रोजगारी पाएका थिए। गोल्छाको स्वीटर बुन्ने धागोबाट बनेका लुगाहरू यति राम्रा हुन्थेँ नि! अहिले त ती उद्योग कहाँ पुगे, कता गए। कुरा गर्दा पनि सपनाजस्तै लाग्छ ती दिनहरू।
अनुहार नै नहेरी बेहुली भित्र्याइयो
त्यो बेलाको बिहेको कुरा गर्ने हो भने बेहुलीको अनुहार नै हेरिँदैनथ्यो। मान्छेहरूले अहिले भन्यो भने पत्याउँदै पत्याउँदैनन् होला। म आफैँले बेहुलीको अनुहार नहेरी बिहे गरेको हो।
मेरो विवाहमा डोली पनि थियो, भतेर पनि राम्रै खुवाएकै हो। २७ सालको कुरो। त्यो बेलामा बेस्मारी खर्च गर्दा पनि ५ हजार सकिएको भन्ने सुनेको थिएँ। हाइफाइ खालको विवाह चाहिँ थिएन। बेहुलालाई एक सरो लुगा, बेहुलीलाई तीनचार सरो किनिएको थियो। दुलहीलाई लुगा तीन-चार जोर लुगा चाहिन्छ भन्थेँ। त्यहि किनियो। ५ सय रुपैयाँ तोलामा सुन आउँथ्यो। अहिले सुनको भाउ सुनेर आश्चर्य लाग्छ।
त्यो बेला भोज भन्दैनथे, भतेर भन्थे। यता वरिपरी सबै खेतै खेत थियो। त्यहि आलीको डिलमा बसेर भतेर खाने हो। स्वयम्बरमा औंठी लगाउँदा बेहुलीको चोर औंलामा लगाइदिएछु मैले। पछि भाउजुले भनेपछि फेरि फुकालेर साइँली औंलामा लगाइदिएँ। अनुहार हेरेको हैन। हात चैं गोरो थ्यो।
बिहे गरेर घर फर्कँदा बाटोमा छिमेकी बाजेले, ‘ल बाबुले बिहे गर्नुभएछ, दुलही कस्ती रैछिन् त!’ भनेर सोधे। मैले पनि ‘खोइ, अनुहार हेरेको छैन, हात चैँ गोरो रैछ’ भनेँ।
फागुन १०, २०८० बिहीबार १२:३७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।