सहकारी बदमासी नियन्त्रण गर्न नियामक निकाय गठन गर्दै सरकार

सहकारी बदमासी नियन्त्रण गर्न नियामक निकाय गठन गर्दै सरकार

काठमाडौँ : सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलनका घटना बढेपछि सहकारी नियमनका लागि सरकारले नियामक निकाय गठन गर्ने तयारी गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी समस्या समाधान गर्न नियामक निकाय गठन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

पार्टीको महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै  उनले नियामक निकाय ‘सेकेन्ड टायर इन्स्टीच्यूसन’ गठन प्रक्रिया अघि बढिसकेको बताए।

सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा रहेको महतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

‘सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो। यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ। सहकारी क्षेत्रको नियामक निकाय गठन प्रक्रिया अघि बढाइएको छ। यस निकायले कार्य प्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ,’ मन्त्री महतले प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रतिवेदनमार्फत उनले मुलुकको अर्थतन्त्र ‘समस्यामुक्त भई नसकेको’ उल्लेख गर्दै आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार गरे।

‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,’ उनले प्रतिवेदन प्रस्तुत गर्दै भने।

मन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन्। सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए।

८ फागुन, २०८०, २१:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।