‘कुर्सी हल्लिने डर भएको हुन्थ्यो भने विभिन्न कान्डहरूको छानबिन नै सुरू हुने थिएन’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ता गुम्ने डर नभएको बताएका छन्।
आज संसद भवनमा राखिएको प्रश्नोत्तर कार्यक्रममा सांसद गणेश पराजुलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पद जोगाउन विगतका ठूला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘माननीय ज्यूले भनेजस्तो मलाई सरकार जालाकी भन्ने डर मलाई बिल्कुलै छैन।’
उनले आफूलाई अहिलेको प्रमुख प्रतिपक्ष लगायतले प्रधानमन्त्री बनाएको भन्दै सरकार जाला भन्ने डर नभएको जिकिर गरे।
‘प्रधानमन्त्री बन्दा १५ दिन हो की २० हो भन्ने सोचको थिए। अनि मैले अरू देशमा कति वटा प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर अध्ययन पनि गरेको थिए। छिमेकी भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिए। मैले यस कारण सरकार जालाकी भन्ने डर मलाई बिल्कुलै छैन’, प्रधानमन्त्री प्रचण्डले भने।
उनले कुर्सी हल्लिने डर भएको भए विभिन्न कान्डहरूको छानबिन नै सुरू नहुने बताए।
‘कुर्सी हल्लिने डर भएको हुन्थ्यो भने छानबिन नै सुरू हुने थिएन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’
सांसद पराजुलीले उठाएको सुन काण्ड, नक्कली भुटानी शरणार्थी, ललिता निवास लगायतका प्रकरणहरूमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबिनको दायरामा आएको यो इतिहास भएको दाबी गरे।
नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको भन्दै यस प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको उनले सदनलाई जानकारी गराए।
उनले पछिल्लो पटक ६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको बताए।
फागुन ६, २०८० आइतबार १४:४६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।