निश्चल बस्नेत फिल्म निर्देशक हुन् कि रास्वापका नेता? (भिडियो)
गम्भीर फिल्ममा हाँस्यरसको चटनी मिसाउन उनी खप्पिस छन्। तर चुकेका पनि छन्। राजनीति अनि समाज परिवर्तनको पक्षमा वकालत गर्ने निर्देशकले दर्शक हँसाउने लोभमा यौन दुर्व्यवहारजन्य दृश्य फिल्ममा राखेको पटक्कै सुहाएन।
खगेन्द्र र दयाहाङबीच विवाहबारेको संवादका बीचमा युवा र युवती आउँदा दयाहाङलाई निर्देशकले जसरी महिलाको अङ्गप्रत्यङ्ग घुर्न लगाएका छन्, त्यो व्यवहार नेपालको कानून अनुसार यौन दुर्व्यवहारभित्र पर्छ।
निर्देशकले दर्शक हाँस्छन् भन्ने लागेर ‘आँखा नसेक’ भन्ने संवाद राखेका होलान् तर त्यसरी महिलाको अङ्गप्रत्यङ्ग हेरेर आँखा सेक्नु दण्डनीय अपराध हो। जुन दृश्य राखेका छन् त्यो नहुँदा पनि फिल्मको कथाको बहाव रोकिँदैन।
निर्देशक निश्चलले राजनीतिमा सुधारको वकालत गर्दा-गर्दै यौन कुण्ठित र यौन दुर्व्यवहारजन्य गतिविधि गर्ने पात्रलाई नयाँ नेतामा स्थापित गराएका छन्। यसले पुराना दलका नेताविरुद्ध राजनीतिमा आउने जस्ता नयाँ पात्र पनि स्वीकार्य हुन्छन् भन्ने गलत सन्देश दिएको छ।
काठमाडौंमा घर भएकी सचि र एउटा चप्पल समेत फेर्न नसक्ने हरितन्नम आर्थिक अवस्था भएका इन्द्रबीचको सम्बन्धको कारण खुलाउन सकेको छैन फिल्मले।
फिल्मभरि निरीह पात्रलाई एकै चप्पल लगाउन बाध्य बनाउनुको उद्देश्य चुनाव चिन्ह त्यसैलाई बनाउने निर्देशकको रहर बाहेक अर्को कारण देखिन्न। पात्रको आर्थिक अवस्था दर्शकलाई महसुस गराउन विमानस्थलकै दृश्य काफी छ।
स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह अनि हर्क साङपाङको चुनावी प्रचार मोडलबाट निर्देशक अलि बढी नै प्रभावित देखिए। चुनाव प्रचार शैली बालनेबाट सापट लिए अनि पात्रमा हर्क।
दलीय रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रवर्द्धन गर्न रङमा चलाखी गरेर राम्रै वकालत गरेका छन् निर्देशकले। रातो रङको झन्डालाई मतदातामार्फत कुल्चाएर उनले आफ्नो मनमा रहेको पुराना दलप्रतिको वितृष्णा प्रस्तुत गरेका छन्। तर रङ हैन रङ्ग बोक्ने व्यक्ति खराब हुन सक्छन् भन्ने बिर्सिए उनले।
अपवादमा जे पनि हुनसक्छ। तर राजनीतिक नेतृत्वबाट सकारात्मक परिवर्तन गर्न अल्लारेपन र सनक हैन स्पष्ट विचार महत्त्वपूर्ण हुन्छ भन्ने धरानका मेयर साङपाङकै गतिविधिबाट पुष्टि भइसक्यो।
कात्तिक २७, २०८० सोमबार २०:२४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।