लैङ्गिकतामा समानता : परिवर्तनका लागि घिस्रिरहेको समाज
नेपालका केही सांस्कृतिक धरोह र चाडपर्व हेर्दा पहिले मातृसत्ता थियो भन्ने देखिन्छ। त्यसका अवशेष अहिलेसम्म रहनुले मातृसत्ता भएको बलियो प्रमाण पनि दिन्छ।
मातृसत्ता हुँदा अजिमाका मन्दिरहरू थिए। महिनावारी हुँदाको रगत पवित्र ठानेर चढाइन्थ्यो। मातृसत्ताकै बेला यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पनि प्रतिनिधित्व थियो।
मन्दिरमा सुरक्षाका खातिर तेस्रोलिङ्गीहरू नै बस्थे। सांस्कृतिक अवशेषहरूले त्यो देखाउँछ।
जब पितृसत्ता आयो पितृसत्ताले यौनिक विविधतालाई स्वीकारेन। पुरुषलाई वंश विस्तारको लागि महिला चाहिने भयो।
महिलाहरूलाई छोराकी आमाको रूपमा हेरेर समाजमा केही न केही स्थान दिएको देखिन्छ तर उनीहरूको छुट्टै अस्तित्व हुन्छ भन्ने स्वीकारेको देखिँदैन।
महिलालाई त नगनेको पितृसत्ताले अन्य यौनिकता भएकालाई स्वीकार्ने कुरै भएन।
यौनिक अनि लैङ्गिक अल्पसंख्यकलाई खुलेर परिवार बनाउन नदिएता पनि ब्रिटिश साम्राज्य आउनु अघिसम्म तेस्रोलिङ्गीलाई म्यासेन्जरको रूपमा दरबारमा प्रयोग हुन्थ्यो।
नाचगान सिकाउने जिम्मा उनीहरूको नै थियो भने मालिस गर्ने जिम्मा पनि उनीहरूकै थिए। तान्त्रिक विद्याहरूमा पुरुष र स्त्री दुवैको ऊर्जा भएको व्यक्तिले थेरापी मालिस अथवा हिलिङ्ग गर्दा निको हुने विश्वास गरिन्थ्यो। ब्रिटिशहरू हावी भएपछि छक्का, हिँजडा भनेर होच्याउने गरियो।
त्यो अवशेष अहिलेसम्म पनि रह्यो। नेपालको सवालमा हेर्दा मारुनी नाचमा त्यसको अवशेष देख्न सकिन्छ। तै पनि राजनीतिक सामाजिक तहमा यो विषय उठेन।
२०६३ सालमा निलहिरा समाजलाई एनजीओको महासंघले सदस्यता दिएको थिएन। जब सर्वोच्चले समलिङ्गी अधिकारबारे फैसला गर्यो, समाजमा भएको यो समुदायलाई हाकाहाकी पदमा रहेकाहरूले होच्याउन सकेनन्।
बिस्तारै समलिङ्गी तेस्रोलिङ्गीको कार्यक्रममा दाताहरूले पैसा पनि दिन थाले। अहिले त यो विषयमा धेरैले काम गरेको देखिन्छ। २०६४ सालमा यो समुदायलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिाकोण बदलाव त आएको छ। तर, अझ पुरुष समान सबै नागरिक हुन् भन्ने देखिँदैन।
पुरुषहरूले आफू दिने तहको रहेको सम्झेका छन्। महिला लगायत अन्य समुदाय लिने तहको रूपमा पीडित छन्। लैङ्गिकताको सवालमा समान नभएता पनि आन्दोलन हुन नसक्नु महिला र अन्य लिङ्गीमा पनि पितृसत्ता हावी नै मुख्य कारण हो।
यदि पुरुषले नै सन्तान जन्माएर वंश धानिदिनुपर्ने भए अहिले भएका अधिकार पनि पाउँदैनथ्यो यो समुदायले। महिला र पुरुषको सवालमा जसरी बराबर हो अन्य पनि त्यही नै हो भनेर बुझ्न ढिलो हुँदैछ।
अहिले केही हदसम्म यौनिक अल्पसंख्यकहरूलाई समाजले स्वीकारेको देखिन्छ। तर विवाह, सम्पत्ति, सन्तानजस्ता आधारभूत पक्षमा कानून बन्न सकेको छैन। तर, यो विषय न सदनमा उठ्छ न त सार्वजनिक क्षेत्रमा नै बहस हुन्छ।
यो पितृसत्ता हावी भएको प्रमाण हो। नभए अन्य लिङ्गको सवालमा आधारभूत अधिकार समेत दिन नचाहनु मानवताविरोधी अपराध हैन र!
यस्ता कुराले न त सरकारलाई छुन्छ, न नागरिक समाजलाई छुन्छ। अहिलेसम्म यौनिक तथा लैङ्गिक समूदायको दृष्टिकोणमा नेपाली समाज बदलिएको छैन, घिस्रिरहेको छ।
पितृसत्ताले यसरी गाँजेको छ की, महिला र पुरुषबाहेक मान्छे हुन्छन्, उनीहरूको पनि आफ्नो जस्तै इच्छा हुन्छ भन्ने सोच समेत विकास हुन सकेको छैन।
सामाधानको उपाय नभएको होइन
समाज बदलिनलाई त्यो समाजको संस्कार संस्कृति बदलिनु आवश्यक हुन्छ। वाक स्वतन्त्रता भएका कारण आफ्नो पहिचानसहित केही व्यक्तिहरू खुलेका त छन् तर उनीहरूले आधारभूत अधिकार पाएका छैनन्।
धेरैले यो समुदायलाई लिएर पश्चिमाकरण भएको तर्क गर्छन्। हाम्रा ऐतिहासिक धरोहरहरूमा समलिङ्गीबारे नभएको होइन। मन्दिरको टुँडाल हेर्दा हुन्छ। के टुँडालको आकृति पश्चिमाकरणको प्रमाण हो?
त्यो लैङ्गिक विविधता नबुझेको वा बुझ्न नचाहेको हो। आफ्नो समाज र संस्कृतिको अध्ययनै नगरी पश्चिमाकरण भयो भन्ने जमात बढिरहेको छ। पश्चिमाकरण त महिला र पुरुष मात्रै हुन्छ भनेर लिङ्ग परिर्वतन गरेर महिला या पुरुष बन्नु हो।
जबकी यहाँका ऐतिहासिक धरोहरमा ६ प्रकारका लैङ्गिकता देखिन्छ। नपत्याए असनमा हेर्न गए हुन्छ। ठमेलको सञ्चय कोष नजिकको मन्दिरमा समलिङ्गी यौन सम्बन्ध भएका प्रशस्त टुँडालहरू छन्।
त्यसकारण पश्चिमा भनेर ठप्पा लगाउनु पहिले आफ्नो संस्कृति, आफ्नो ऐतिहासिक धरोहर हेरौँ, चिनौँ।
कसैको लैङ्गिकताले कसैलाई अप्ठ्यारो पारेको हुँदैन। दुईजना बीच सहमतिमा भएको यौन सम्बन्धले कसैको संस्कृति खलल पुग्दैन।
यो त विल्कुलै अर्काको व्यक्तिगत कुरामा चियो गरेको भयो। सहमतिमा केटा-केटा होस् या केटी-केटीबीचको यौन सम्बन्ध होस् त्यो अप्राकृतिक हुन्न।
(प्रजु पन्तसँगको कुराकानीमा आधारित)
कात्तिक ८, २०८० बुधबार ०७:०१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।